पिटरको ‘बकपत्र’माथि विमर्श
  • काँचुली खबर

२९ वैशाख, नेपालगन्ज । लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजंग पिटरको पुस्तक बकपत्रमाथि नेपालगन्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु श्रृंखलाको चौथो अंकमा पिटरको बक पत्रमाथि विमर्श गरिएको हो ।

कार्यक्रममा साहित्यकार सनत रेग्मी, पत्रकार झलक गैरे र अध्यापक भागवत पौडेलले बकपत्रमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गरे । कार्यक्रममा सहभागीहरुले पनि आफ्ना जिज्ञाशा लेखकसमक्ष राखे र लेखक पिटरले जवाफ दिए ।

कार्यक्रमका वक्ताहरुले पिटरको पुस्तकमाथि मिश्रित धारणा राखे । पौडेलले बकपत्रमा सबाल्टर्नहरुका कुराले प्राथमिकता पाएको र जनयुद्धले उठाएको सर्वाहाराको मुक्तिको सपना तुहिएकोमा लेखकद्धारा व्यक्त तीव्र असन्तुष्टि पठनीय र चर्चायोग्य रहेको बताए । उनले बकपत्रमा बाँके बर्दियाका नलेखिएका धेरै पाटाहरु समेटिएको पनि बताए ।

पत्रकार गैरेले पिटरले बकपत्र भनेपनि उनले आफ्नो जीवनका धेरै पाटाहरुमा पर्दा हालेको टिप्पणी गरे । उनले पिटरले कतिपय कुरा पुस्तकमा लेख्न नसकेको उल्लेख गर्दै त्यसो हुनुको कारण माग गरे ।

साहित्यकार रेग्मीले बकपत्रमा पिटरले धेरै विषय छोएको तर ती विषयका सबै आयामहरु उल्लेख नगरेको बताए । उनले बकपत्रमा निराशा हाबी भएको पनि बताए । यद्धपि पिटरले माओवादी आन्दोलन र त्यसको हालको निराशाजनक परिणतिप्रति निर्भिक भएर आफ्ना कुराहरु राख्न सफल भएकोमा प्रशंसा गरे ।

कार्यक्रममा सहभागीहरुले पिटरको राजनीतिक जीवनमा आएका उतारचढाव र उनको अहिलेको राजनीतिक एवं वैचारिक अडानका विषयमा जिज्ञाशा राखेका थिए ।

टिप्पणीकर्ता र सहभागीहरुका जिज्ञाशा र दृष्टिकोणमाथि आफ्नो प्रतिक्रिया राख्दै पिटरले आफ्ना जीवनका सबै घटनाहरु पुस्तकका जस्ताको तस्तै उतार्न कठिन हुने बताए । यद्धपि आफूले आफ्नो जीवन दर्शनलाई र मुक्तिको सपना देखेर जीवनको बाजी राखि होमिएको आन्दोलन तुहिएकोप्रति घृणा अभिव्यक्त गरेको बताए ।

उनले भने, ‘कुनै बेलाको नायक कुनै बेला खलनायकमा परिणत हुन सक्छ । नायक रहेको बेला उसलाई प्रेम र खलनायक बनेको बेला घृणा गर्न सक्नुपर्दछ । उनले आफू अहिलेपनि माओवादी रहेको दाबी गर्दै भने, पहिले म पार्टीमा थिएँ । अहिले सकडमा छु । म सडकको माओवादी हुँ ।’

कार्यक्रममा बाँकेका राजनीतिक अगुवा, लेखक, अध्यापक, समाजसेवी लगायतका व्यक्तिहरुको सशभागिता थियो ।

  • २९ बैशाख २०८१, शनिबार १६:०० प्रकाशित
  • Nabintech