२१ बैशाख, नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा मात्र १२ जना सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु भएको छ । मृत्यु भएका १२ जनामा ६ जना त अस्पतालको शहरका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेले दिएको जानकारी अनुसार खजुरा र डुडुवा गाउँपालिकाका २÷२ जना र राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका १-१ जना सुत्केरीको यसै आवमा मृत्यु भएको छ ।
सुबिधा सम्पन्न अस्पताल र स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको स्वास्थ्य कार्यालयको दाबी छ ।
नेपालगन्जमा आयोजित एक अन्तरक्रियामा स्वास्थ्य कार्यालय, बाँकेकी फोकलपर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मृत्यु भइरहेको जानकारी दिइन् । बच्चा पाएको ४२ दिनसम्म सुत्केरी अवस्था मान्ने गरिन्छ । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको भनाई छ ।
जिल्लामा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको उनले बताइन् ।
२१ बैशाख २०८१, शुक्रबार १५:३८ प्रकाशित