पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्क्रिनिङ शिविर सम्पन्न
  • काँचुली खबर

१९ बैशाख, कोहलपुर । कोहलपुरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने स्क्रिनिङ शिविर सम्पन्न भएको छ । श्रमीक दिवसको अबसरमा बुधबार कोहलपुर नगरपालीका १० नं. वडा कार्यालयको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरीएको हो ।

आर.एम. हस्पिटल प्रा.लि. कोहलपुरको प्राविधिक सहयोगमा संचालन गरीएको स्वास्थ्य शिविरमा २४७ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण गरीएको वडा नं. १० का वडा सदस्य भिम पौडेलले जानकारी दिए । शिविरमा आएका सेवाग्राहीहरुको जनरल स्वास्थ्य परिक्षण समेत गरीएको पौडेलले बताए ।

आधारभुत स्वास्थ्य केन्द्र चटारमा संचालन गरीएको स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ सा.प्रा.डा. कविता सिंह पाण्डे, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. होमनाथ अधिकारी, जनरल फिजिसियन डा. गोविन्द प्रसाद थारु तथा डा. रवी वाग्लेले स्वास्थ्य परिक्षण गरेका थिए ।

वडा कार्यालयसँगको समन्वयमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर संचालन गरीएको आर.एम. हस्पिटलका प्रशासन प्रमुख दिपेन्द्र कठायतले जानकारी दिए । आर.एम. हस्पिटलले बिभिन्न समयमा निशुल्क स्वास्थ्य शिविर संचालन अनुका साथै विपन्न तथा पिछडीयका समुदायका नागरीकहरुको उपचारमा विशेष छुटको ब्यवस्था समेत गर्दै आएको कठायतले बताए ।

शिविरको कोहलपुर नगरपालीकाका उपप्रमुख संगिता सुवेदीले उद्घाटन गरेकी थिईन । शिविरको उद्घाटन गर्दै उपप्रमुख सुवेदीले नगरपालीकाले नगरवासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताईन । उनले भौतीक विकाससँगै शिक्षा, स्वास्थ्य जस्तो आम नागरीकसँग प्रत्यक्ष जोडिएका विषयलाई स्थानिय सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै यसको भरपुर लाभ लिन समेत आह्वान गरीन ।

महिलाहरुले लाजका कारण धेरै रोगलाई पालेर बस्ने गरेको तर्फ ईगिंत गर्दै सुवेदीले स्वास्थ्यमा खेलवाड नगर्न समेत आग्रह गरेकी थिईन ।

कार्यक्रममा कोहलपुर नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले पाठेघरको मुखको क्यान्सर सम्बन्धी महत्वपूर्ण जानकारी दिएका थिए । उनले ब्यक्तिगत लापरवाहीका कारण महिलाहरुमा जटिल खालका स्वास्थ्य समस्या देखापर्ने भएकाले समय समयमा अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउँदै सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेको ठकुरीले बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. १० का वडाध्यक्ष गौरा कुमारी भट्टराईले महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको पहिचानगरी तत्काल उपचारमा सहजता होस् भन्ने उद्देश्यले शिविर आयोजना गरीएको बताईन । उनले हरेक वर्ष वडा कार्यालयले बिभिन्न रोग सम्बन्धि स्वास्थ्य शिविर संचालन गर्दै आएको जानकारी समेत दिईन ।

  • १९ बैशाख २०८१, बुधबार १८:३३ प्रकाशित
  • Nabintech