१७ बैशाख २०८१, सोमबार
एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा प्रवेश
  • काँचुली खबर

३ बैशाख, काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो । सुरुवाती जोडीले आक्रामक सुरुवात दिलाएपछि नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो ।

यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरे । कुशलले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुनुअघि १९ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

आसिफ पनि अर्को ओभरमा पेभेलियन फर्किए । उनले १८ बलमा समान ३-३ चौका र छक्कासहित ४० रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे । हङकङका यासिम मुर्तजा र एहसान खानले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।

ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । उनले ११ बलमा १२ रन जोडे ।

त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथलाई गुलशन झाले डिप बाउन्ड्रीबाट डाइरेक्ट थ्रोमा रनआउट गरे । उनले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यसपछि हङकङले नियमित विकेट गुमायो । अंशुमन हुँदा एक समय ६१-२ को अवस्थामा रहेको हङकङ त्यसपछि भने सस्तोमा समेटियो ।

हङकङका लागि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । धनन्जय राव पहिलो बलमा बोल्ड भएका थिए ।

नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

आज समूह बी अन्तर्गत खेलमा ओमान र यूएई तथा कुवेत र बहराइन भिड्दैछन् ।

  • ३ बैशाख २०८१, सोमबार १५:३४ प्रकाशित
  • Nabintech