१७ बैशाख २०८१, सोमबार
चैत मसान्तसम्म नेपालगन्जबाट ९ करोड बढीको पाठ्यपुस्तक बिक्री
  • काँचुली खबर

३ बैशाख, नेपालगन्ज । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८१ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण कार्य गरिरहेको छ । चैत मसान्तसम्म नौ करोड ६३ लाख बढीको पाठ्यपुस्तक बिक्री गरेको नेपालगन्ज कार्यालयले जनाएको छ ।

प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि चैत मसान्तसम्म नेपालगन्ज कार्यालयबाट नौ करोड ६३ लाख ४८ हजार ७६४ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकेको जानकारी दिए ।

उनका अनुसार यस वर्ष चैत मसान्त सम्ममा नौ लाख ५३ हजार २२४ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ । कर्णालीको हुम्लामा ३३ हजार ७११ थान, डोल्पामा २४ हजार ३२१ थान, रुकुमपश्चिममा एक लाख ३८ हजार २७२ थान, जाजरकोटमा ३९ हजार २७९ थान र सल्यानमा एक लाख २७ हजार ७४२ थान पुस्तक बिक्री गरिएको छ ।

त्यसैगरी लुम्बिनीको रुकुमपूर्वमा ४२ हजार ६८४ थान, रोल्पामा एक लाख ५९ हजार ८७३ थान, दाङमा एक लाख ७६ हजार २४० थान, बर्दियामा ९३ हजार ९२५ थान र बाँकेमा एक लाख १७ हजार १९७ थान गरी जम्मा नौ लाख ५३ हजार २४४ थान बिक्री भएको प्रमुख ढुङ्गेलले बताए ।

गत वर्ष नेपालगन्ज कार्यालयबाट जाजरकोट बाहेकका ९ जिल्लामा १६ लाख ४४ हजार ८५१ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको थियो । यो वर्ष जाजरकोटसहितका १० जिल्लामा करिब १८ लाख थान पुस्तक वितरण गरिने अनुमान कार्यालयले गरेको थियो ।

“गत वर्ष हामीले जाजरकोट बाहेकका नौं जिल्लामा १६ लाख ४४ हजार ८५१ थान पाठ्यपुस्तक बिक्री वितरण गरेका थियौं, यस वर्ष करिब १८ लाख पुस्तक वितरण गर्ने हाम्रो लक्ष्य हो, हाम्रो लक्ष्यको यो ५० प्रतिशत मात्र हो ।” प्रमुख ढुङ्गेलले भने, “विविध कारणले गर्दा होला विक्रेताहरुले अनुमान गरिए अनुसार पुस्तक लान सक्नुभएको छैन, हामीसँग पुस्तकको अभाव छैन, आवश्यकता अनुसार नै छ, माग भएअनुसार हामी दिन्छौं, उहाँहरु आउने क्रम जारी छ, पुस्तक लैजाने क्रम पनि जारी छ, वैशाख १५ गतेसम्ममा हामीले लक्ष्य पुरा गर्ने आशा लिएका छौं ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तकहरु जिल्लाहरुको प्राथमिकताका आधारमा तालिका बनाएर गत चैत ९ गतेदेखि वितरण कार्य सुरु गरेको हो ।

नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम्, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।

  • ३ बैशाख २०८१, सोमबार १५:१३ प्रकाशित
  • Nabintech