१७ बैशाख २०८१, सोमबार
एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जीत
  • काँचुली खबर

१ बैशाख, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो ।

यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । जितसँगै नेपाल ४ अंक बटुल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म डो¥याउन सकेनन् । उनले यसक्रममा ६ चौका र ४ छक्का हिर्काए ।

मोहमद अनाफले २३ रन बनाए भने हिमान्सु राथोडले २२ रन प्रहार गरे । अदनान मिर्जाले १९ तथा ओपनर कमरान खानले १८ रनको योगदान दिए ।

नेपालका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले २-२ विकेट लिए । कुशल मल्ल र अविनाश बोहराले १-१ विकेट हात पारे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले ।

उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी-२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् । युवराजले सन् २००७ को टी-२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए । दीपेन्द्रले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए ।

नेपालका लागि ओपनर आसिफ शेखले पनि ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । त्यस्तै कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३-३ विकेट लिए ।

  • १ बैशाख २०८१, शनिबार १९:४७ प्रकाशित
  • Nabintech