१७ बैशाख २०८१, सोमबार
दीपेन्द्रसिंह ऐरी : एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी
  • काँचुली खबर

१ वैशाख, काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् ।

ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी-२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी-२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् ।

दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत हुन् । दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी-२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए ।

उक्त खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्रअघि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने चार खेलाडी यस प्रकार छन् ।

हर्सल गिब्स :

दक्षिण अफ्रिकाका ब्याटर हर्सल गिब्सले २००७ को एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

उनले नेदरल्यान्ड्सका डान भान बंगेलाई ३० औं ओभरमा ६ छक्का हानेका थिए । हर्सल अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

युवराज सिंह :

भारतका पूर्व आक्रामक ब्याटर युवराज सिंहले २००७ को टी-२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई १९ औं ओभरमा ६ छक्का हानेका थिए । युवराज टी-२० आईमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

काइरन पोलार्ड :

वेस्टइन्डिजका पूर्वकप्तान काइरन पोलार्डले २०२१ को टी-२० आई सिरिजमा श्रीलंकाका स्पिनर अकिला धनञ्जयलाई छैटौं ओभरमा ६ छक्का हानेका थिए ।

जसकरण मलहोत्रा :

अमेरिकाका ब्याटर जसकरण मलहोत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओडीआई खेलमा एकै ओभरमा ६ छक्का हानेका थिए । अन्तिम ओभरमा गौडी टोकालाई एकै ओभरमा छक्का हानेका थिए ।

  • १ बैशाख २०८१, शनिबार १९:३० प्रकाशित
  • Nabintech