३० चैत, काठमाडौं । स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५।१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।
त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए ।
नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।
३० चैत्र २०८०, शुक्रबार १८:०४ प्रकाशित