१९ बैशाख २०८१, बुधबार
खजुरास्थित जनक शिक्षाको छापाखाना प्रयोगविहीन
  • काँचुली खबर

२८ चैत्र, नेपालगन्ज । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको छापाखाना प्रयोगमा आउन नसकेको हो ।

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रविन्द्र शर्माले बजेट अभावमा छापाखाना चलाउन सक्ने अवस्था नभएको बताए ।

सरकारले तत्कालीन समयमा एक करोड रुपैयाँको लागतमा छापाखाना भवन निर्माण गरेको थियो । त्यसपछि थप दुई करोड रुपैयाँको लागतमा थप दुई वटा गोदाम भवन निर्माण गरिएको छ ।

छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन कहिले कोभिड अस्पताल त कहिले प्रहरीको बासस्थान बन्ने गरेको छ । छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु-कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ भने लामो समय थन्किएका कारण मेसिनमा खिया लाग्न थालेको कर्मचारी बताउँछन् ।

प्रेस अपरेटर सहित ३६ जनाको दरबन्दी रहे पनि अहिले छापाखानामा ८ जना कर्मचारी छन् । छापाखाना सञ्चालन नभए पनि गोदाम भने अहिले प्रयोगमा छ । केन्द्रको भक्तपुरस्थित छापाखानामा छापिएका पाठ्यपुस्तक नै गोदाममा ल्याएर बाँके, बर्दिया, दाङ, सल्यान, प्युठान, पूर्वी रुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा वितरण गर्दै आएको कार्यालय प्रमुख होमराज ढुङ्गेलले बताए ।

केन्द्रका सूचना अधिकारी शर्माले छापाखानामा फोर कलर मेसिन र पर्खाल निर्माणलगायत पूर्वाधार पूरा गर्न करिब १० करोड रुपैयाँ आवश्यक रहेको बताए । सरकारले उक्त बजेट दिए तुरुन्तै छापाखाना चलाउन सकिने उनको भनाइ छ ।

फोर–कलर मेसिन खरिद गरेर खजुरामै छपाइ गर्न सकिएको खण्डमा छिटो, छरितो रूपमा पाठ्यपुस्तक उपलब्ध गराउनुका साथै ढुवानी खर्च पनि कम लाग्ने शर्माको जिकिर छ ।

सरकारले हाल कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक निजी छापाखानाबाट छाप्दै आएको छ भने ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छाप्दै आएको छ ।

केन्द्रले खजुराबाट पुस्तक छाप्दा लाखौँ रुपैयाँ बचत हुने जनक शिक्षा कर्मचारी युनियनका अध्यक्ष जनकराज भारतीले बताए । उनले छापाखाना सञ्चालन गराउन कर्मचारीहरूको तर्फबाट पूर्ण सहयोग रहने बताए ।
रातोपाटीबाट

  • २८ चैत्र २०८०, बुधबार १२:२९ प्रकाशित
  • Nabintech