२७ चैत्र, नेपालगन्ज । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका सात जनाकाे पहिचान खुलेकाे छ । दुर्घटनामा बाँकेका ५ जना र बर्दियाका १ जनासहित सवारीचालक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार मृत्यु हुुने पाँच जना बैजनाथ गाउँपालिका ८ चाँदनी चोकका रहेका छन । बैजनाथका ५० वर्षिय उदय राम चौधरी, ४१ वर्षिय तिलक चौधरी, ५० वर्षिय अन्तराम चौधरी, ६० वर्षिय बिनोद चौधरी, ४५ वर्षिय धिरज चौधरीको सडक दुर्घटनामा ज्यान गएकाे छ । त्यस्तै बर्दिया बबई चेपाङका ६० वर्षिय तोक बहादुर र गाडि चालक बेतालघाट भारतका ४० वर्षिय रमेश चन्द्रकाे मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको र आफ्नो घर कञ्चनपुर महेन्द्रनगरको बाटो हुँदै फर्कन लागेका थिए ।
घटनास्थल वरपर नेपालीहरू सडकछेउमा पाइप बिछ्याउने काम गर्दथे। उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दै गर्दा सवारी सडकदेखि तल झरेको भारतिय संचारमाध्यमले जनाएका छन ।
गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।
२७ चैत्र २०८०, मंगलवार १९:५३ प्रकाशित