२३ चैत्र, नेपालगन्ज । बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निमार्ण तथा कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
अदालतमा बिहिबर भएको सुनवाईमा उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस टंकप्रसाद गुरुङ्ग र न्यायिधस गोविन्द जोशीको संयुक्त इजलासले पोखरी भएको जग्गामा माटो लगायतका अन्य सामाग्री पटान नगर्नु नगराउनु र कुनै पनि संरचना निमार्ण नगर्नु नगराउनु भनी आदेश दिएको हो ।
चैत ६ गते भएको सुनवाईमा अदालतले गरेको अल्पकालिन आदेशलाई नियमाली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । नरैनापुर–१ कटकुईया निवासी सूचना अभियन्ता अरुण कुमार तिवारीले सार्वजनिक सरोकारको विषय भन्दै जिल्ला प्रशासन कार्यालय, नरैनापुर गाउँपालिका, वडा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।
विपक्षीले उक्त पोखरी भएको जग्गामा खाली देखेर सो स्थानमा विद्यालय लगायतका संरचना बनाउन निर्णय गरेको लगायत लिखित जवाफ अदालतमा पेश गरेको थियो । तर त्यो कानून संगत नभई सार्वजनिक पोखरी, तालतलैया जस्ता स्थानलाई संरक्षण गर्नुपर्ने भएकाले त्यहा कुनैपनि संरचना निमार्ण नगर्न अदालतले रोकेको हो ।
अदालतमा बिहिबार भएको मुद्दाको सुनवाईमा निबेदकको तर्फबाट वरिष्ठ अधिबक्ता विजयकुमार गुप्ता, अधिबक्ता विश्वजित तिवारी, अधिबक्ता रामकुमार दिक्षित, अधिबक्ता केवलसिंह थारु, अधिबक्ता राकेश सोनी, अधिबक्ता पुनम श्रेष्ठ, अधिबक्ता विजयकुमार शर्माले बहस गरेका थिए ।
यसैगरी विपक्ष नं. १ र २ को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयबाट सहन्याधिबक्ता उमाकान्त पौडेल, विपक्ष नरैनापुर गाउँपालिकाको तर्फबाट अधिबक्ता लोकबहादुर शाह र अधिबक्ता बलबहादुर चन्दले बहस गरेका थिए ।
नरैनापुर–६ कटकुईयामा कित्ता नं. २६५ को जग्गामा सार्वजनिक पोखरी रहेको छ । उक्त पोखरीको संरक्षण गर्न स्थानीय सरकारको दायित्व हो तर त्यसको संरक्षण नगरी पोखरीमा संरचना निर्माण गरी पोखरीलाई अस्तित्वविहिन बनाउन थालेको भन्दै स्थानीयले समेत पोखरीको संरक्षण सम्बद्र्धन गर्न माग गरेका छन ।
परापुर्वकालदेखि रहेको पोखरीबाट त्यस क्षेत्रमा स्थानीयले स्वच्छ र स्वस्थ्य वातावरणको लाभ लिनुका साथै पोखरीको डिललाई बाटोको रुपमा प्रयोग गर्ने, पानीले सिचाई गर्ने, गाई भैसी चराचुरुङ्गी जंगली र घरेलु जनावरले पानी खाने लगायतको कार्यमा पोखरीको गर्दै आएका छन ।
उक्त पोखरी चमर गढहीको नामले प्रसिद्ध रहेको छ । पोखरी संरक्षण बिहीन अवस्थामा रहेकोले बर्षाको बेलामा चारै तिरबाट पानीसंगै माटो पनि बगेर आउने गरेकोले उक्त पोखरी बिस्तारै पुरींदै गएको छ । बर्तमान जलवायु परिवर्तनको असर नेपालमा पनि परेको छ । पानीका मुहानहरु सुक्दै गईरहेको अवस्था छ ।
पोखरी जंगल र कटकुईया गाँउको नजीक रहेकोले सुख्खा याममा जंगलभित्रका पानीका मुहानहरु सुकेपछि जंगली जनावर र घरेलू जनावरहरु सोही पोखरीको पानीले जीवन निर्वाह गर्दै आएका छन ।
२३ चैत्र २०८०, शुक्रबार १४:०५ प्रकाशित