९ जेष्ठ २०८१, बुधबार
राजीनामा दिने मुडमा लुम्बिनीका मुख्यमन्त्री, माओवादीका महराले जुटाए बहुमत
  • काँचुली खबर

२२ चैत्र, देउखुरी । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन् ।

उनले बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्ना भनाइ राखेर त्यहीँबाटै राजीनामा घोषणा गर्ने उनीनिकट स्रोतले बताएको छ ।

नेकपा माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन समर्थन गर्दै एमालेका २९, माओवादी केन्द्रका १०, जसपा नेपालका ३, नेपका एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ जनाले हस्ताक्षर गरिसकेका छन् ।

नागरिक उन्मुक्तिले पनि समर्थन गर्ने जानकारी दिइसकेको तर, हस्ताक्षर प्रक्रिया अझै सहभागी नभएको माओवादी केन्द्रका लुम्बिनीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । मुख्यमन्त्री चौधरीले राजीनामाको विषयमा निर्णय लिन प्रदेशसभा बैठकअघि संसदीय दलको बैठक बोलाएका छन् । बैठक अघि नै उनले राजीनामा दिने गरी तयारी गरेको र संसदीय दलको बैठकमा पनि त्यही विषय राख्ने कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए । अहिले कांग्रेसका २७, लोसपा र जनमतका ३र३ र जनमोर्चाका १ प्रदेशसभा सदस्यको मात्र समर्थन जुटाएका छन् । ३ प्रदेशसभा सदस्य रहेको राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन । त्यस्तै विवादका कारण अन्तिम निर्णय नगरेको ४ प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पनि अन्तिम समयमा नयाँ गठबन्धनतिरै लाग्ने भएकाले मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले भने राजीनामा आउन सक्ने तर, त्यसको निर्णय संसदीय दलको बैठकपछि मात्र टुंगो लाग्ने बताए ।

दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार आजकै बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्न सक्ने सम्भावित कार्यसूची रहेको छ । अन्तिम कार्यसूची भने ३ बजेपछि प्रकाशित गरिने उनले बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तीमा ४४ मत आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३र३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १-१ र स्वतन्त्रबाट १ प्रदेशसभा सदस्य निर्वाचित छन् ।

  • २२ चैत्र २०८०, बिहीबार १३:४० प्रकाशित
  • Nabintech