एसइइमा खटिएका बाँकेका दुई परीक्षा निरीक्षक निष्कासित
  • काँचुली खबर

२२ चैत्र, नेपालगन्ज । बाँकेको एक परीक्षा केन्द्रबाट दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । नेपालगन्जमा रहेको महेन्द्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बिहीबार सञ्चालित एसइइ परीक्षामा विद्यार्थीहरुले मर्यादाविपरीत गतिविधि गरिरहँदासमेत परीक्षा निरीक्षकको न्यूनतम कर्तव्य पालनासमेत नगरी गैरजिम्मेवारी काम गरेको भन्दै दुई जना परीक्षा निरीक्षकलाई निष्कासन गरिएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा भएको अनुगमन तथा निरीक्षणका क्रममा उक्त विद्यालयमा परीक्षा निरीक्षकको जिम्मेवारीमा रहेका गीता सुवेदी र सूर्य थापाले विद्यार्थीहरुले मर्यादाविपरीत गतिविधि गर्दासमेत मूकदर्शक बनेर आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको पाइएकाले उनीहरुलाई तत्कालै जिम्मेवारीबाट निष्कासन गरिएको प्रजिअ पोखरेलले बताए ।

परीक्षालाई स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउनुपर्ने दायित्व बोकेर जिम्मेवारीमा रहेका उनीहरुले सो विपरीत गरेको पाइएकोले भविष्यमा परीक्षा सञ्चालनसम्बन्धी कार्यको कुनै पनि जिम्मेवारीमा अयोग्य रहने गरी अभिलेखीकरण गरिने उहाँले जानकारी दिए । बिहीबार अन्य सबै केन्द्रमा भने परीक्षा सामान्य रुपमा सञ्चालन भएको पाइएको प्रजिअ पोखरेलले जानकारी दिए ।

मङ्गलबार मात्रै नेपालगन्जको एक परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट चिट चोराउने कार्यमा संलग्न एक विद्यालयका प्रिन्सिपलसहित ५ जनालाई पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

  • २२ चैत्र २०८०, बिहीबार १३:०७ प्रकाशित
  • Nabintech