नेपालगञ्ज र बढैयातालका कर्मचारी आन्दोलित, कामकाज ठप्प
  • काँचुली खबर

१६ फागुन, कोहलपुर । बाँके र बर्दियाका दुई पालीकाका कर्मचारीहरु आन्दोलित भएका छन । कर्मचारीमाथी अभद्र ब्यवहार भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बढैयाताल गाँउपालिकाका कर्मचारीहरु आन्दोलित भएका हुन ।

नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मङ्गलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुनेगरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार बिहानदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।

वडाध्यक्ष शेष नगरप्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरेर फर्किने क्रममा आवञ्छित र गैर कानुनी क्रियाकलाप गरेकाले बाध्य भई आन्दोलनमा उत्रनुपरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले जानकारी दिए । जोशीले भने, ‘कर्मचारीको अभिभावकको भूमिका रहेको व्यक्तिबाट कर्मचारी स्वयं असुरक्षित हुने अवस्था आएपछि बाध्य भई आन्दोलनमा उत्रनुपरेको छ ।’

वडाध्यक्ष शेषलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले वडाध्यक्ष शेषलाई कारवाहीको विषयमा नगरप्रमुख विष्टको ध्यानाकर्षण गराएको जनाएका छन् । बुधबार उपमहानगरपालिकामा जम्मा भई जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराउने कर्मचारीहरुले बताएका छन् । जन प्रतिनिधि र कर्मचारी समयमा नआउने गरेकोलगायतका आरोप लगाउँदै वडाध्यक्ष शेषले मङ्गलबार कार्यालय समयमा उपमहानगरपालिकामा गालीगलौज र अपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

त्यसैगरी बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको भन्दै बढैयाताल गाँउपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । राष्ट्र सेवक कर्मचारीलाई कार्यालय जाँदै गरेको समयमा अज्ञात समुहद्धारा अमावनिय र घृणित तरीकाले आक्रमण गरीएको भन्दै कर्मचारीहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका हुन ।

उनिहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेका छन ।

  • १६ फाल्गुन २०८०, बुधबार १६:०४ प्रकाशित
  • Nabintech