१५ बैशाख २०८१, शनिबार
तेस्रो हारसँगै लुम्बिनी बाहिरियो, सुदूरपश्चिम र गण्डकी विजयी
  • काँचुली खबर

२९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृती यू-१९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गरेका हुन ।

दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्यो । बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा २ विकेट गुमाएर भेटायो ।

प्लेयर अफ द म्याच समेत घोषित सावित्री धामीले सुदूरपश्चिमकालागी सर्वाधिक ४७ रन योगदान दिईन् । अविजित रहँदै धामीले ४२ बलमा ५ चौका प्रहार गरिन् । स्नेहा महराले अविजित २४ रन बनाईन् । तेस्रो विकेटकालागि सावित्री र स्नेहाले अविजित ५६ रनको साझेदारी गरे ।

बागमतीको बलिंगमा एक मात्र विकेट मनिषा उपाध्यायले लिएकी थिईन ।

टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो ।

बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक २९ रन योगदान दिईन् । क्रिश्मा गुरुङले १२ तथा साबिका यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमको बलिंगमा अनु कडायत र क्रिश्मा गुरुङले १-१ विकेट लिए । सुदूरपश्चिमले ५ विकेट रन आउट मार्फत पाएको थियो ।

दिनको दोश्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गर्यो । गण्डकीले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो ।

लुम्बिनीको ब्याटिंगमा आशमा पुलामी मगरले सर्वाधिक २८ रन योगदान दिनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गण्डकी प्रदेशको बलिंगमा सिमाना केसी एक्लैले ६ विकेट हात पारिन् । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा मात्र १४ रन खर्चिन् । रचना चौधरीले २ तथा आकृति तिवारी र निरुता जीटिले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

गण्डकीकालागि सिमाना केसीले सर्वाधिक ४३ रन बनाईन् । अविजित रहँदै केसीले ४६ बलमा ४ चौका प्रहार गरिन् । सरिना थापाले १६ तथा सलिना सेनले १० रन योगदान दिईन् ।

लुम्बिनीको बलिंगमा सरु तिवारीले १ विकेट लिंदा बाँकि ३ विकेट रन आउट मार्फत पायो ।

आजको जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको गण्डकी प्रदेश दोश्रो स्थानमा छ । समान अंक सहित २ खेलमा जित दर्ता गरेको कोहलपुर मेयर(११ शिर्ष स्थानमा छ । २ खेलमा समान १ जित र १ हार बेहोरेको बागमती र सुदूरपश्चिम प्रदेश नेट रन रेटको आधारमा तेश्रो र चौंथो स्थानमा छ ।

तिन वटै खेलमा पराजित भएको लुम्बिनी प्रदेश भने एक खेल अगावै प्रतियोगिताको फाइनल दौडबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत चौंथो दिन पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल विहान ९:३० बजे बागमती प्रदेश र गण्डकी प्रदेश बीच हुनेछ । दोश्रो खेल दिउँसो १:३० बजे कोहलपुर मेयर-११ र सुदूरपश्चिम प्रदेश बीच हुनेछ ।

  • २९ माघ २०८०, सोमबार १७:४९ प्रकाशित
  • Nabintech