सुशिल कोईराला स्मृति प्रतियोगिता : काेहलपुर-११ र गण्डकी प्रदेशकाे बिजयी सुरूवात
  • काँचुली खबर

२७ माघ, कोहलपुर । कोहलपुरमा शनिबारदेखि सुरू भएकाे ‘सुशिल कोईराला स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिता’    अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन् । काेहलपुरस्थित निर्माणाधिन अन्तरास्ट्रिय क्रिकेट मैदानमा भएकाे पहिलाे खेलमा कोहलपुरले लुम्बिनी प्रदेशलाई र दाेस्राे खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बिजयी सुरूवात गरेका छन ।

कोहलपुर मेयर-११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्यो । कोहलपुर मेयर-११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४.५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो ।

लुम्बिनीको ब्याटिंगमा सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन् ।

कोहलपुरकी रिया शर्माले ४ ओभरमा मात्र ७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिईन् । भवानी कमाती र तृष्णा विश्वकर्माले २/२ विकेट तथा हैमवती रोय, आरति महतो र प्रतिमा शाहले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएकाे थियाे । कोहलपुरको लागि ओपनर साना प्रभिनले सर्वाधिक ४० रन बनाईन । अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन् । त्यस्तै प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन् । लुम्बिनीका सरु तिवारी र एन्जिला पाठकले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच साना प्रविन घोषित भईन् ।

शनिबार नै सम्पन्न दोश्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित गर्यो । गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक २४, गङ्गा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाईन् ।

गण्डकी प्रदेशकी रचना चौधरीले ४ ओभरमा २५ रन खर्चदैं सर्वाधिक ३ विकेट लिईन् । त्यसैगरी आकृति तिवारी र सिमाना केसीले २/२ तथा कुसुम गोदार र निरुता जीटिले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनाएकाे थियाे । गण्डकीका लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिईन् । चौंथो नम्बरमा ब्याटिंग गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाईन् ।

सुदूरपश्चिमकी स्नेहा महराले १ विकेट लिनु बाहेक अन्य बलर विकेटविहिन रहे । गण्डकीले २ विकेट रन आउट मार्फत गुमायो ।

खेलको प्लेयर अफ द म्याच अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी घोषित भईन् ।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९:३० बजे बागमती र लुम्बिनी तथा दोश्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन् । सबै टिमले एक-अर्कासँग एक-एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

प्रतियोगिताको बिजेताले ट्रफी सहित नगद १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कार पाउने नगर खेलकुद बिकास समिति काेहलपुरका अध्यक्ष बुद्धि थापाले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर नगर खेलकुद विकास समितिको व्यवस्थापन तथा क्यानको सहकार्य र प्राविधिक सहयोगमा आयाेजना गरीएकाे प्रतियोगिता फागुन ३ गतेसम्म संचालन हुने प्रतियोगिता संयाेजक चिन्तामणी धितालले जानकारी दिए । प्रतियोगितालाई आगामी वर्षदेखी नेपाल क्रिकेट संघ (क्यान) काे वार्षिक क्यालेन्डरमा समावेश गरी निरन्तरता दिईने धितालले बताए ।

प्रतियाेगिताकाे शनिबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, क्यानका केन्द्रीय कोषाध्यक्ष पदम बहादुर खड्का, संविधान सभा सदस्य तथा पूर्व मन्त्री अमर सिंह पुन लगाएतले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

  • २७ माघ २०८०, शनिबार १७:५३ प्रकाशित
  • Nabintech