मृगौला पिडित ममताको जीवन रक्षाकालागी परिवारको याचना
  • काँचुली खबर

२२ माघ, कोहलपुर । कोहलपुर ८ पिपरी नयाँ बस्तीकी ममता साह टमटाको जिवनरक्षाका लागि ममताका घरपरिवार र आफन्तहरुले सहयोगको याचना गरेका छन ।

सात वर्ष अघि स्थानिय सुमन साहसँग प्रेम बिवाहमा बाधिएकी ममताको दम्पत्ती रोजगारीकालागी भारतको अम्दावाद गएका थिए । बिस्तारै पेट दुख्न थालेपछि उनले अम्दावादमा रहेको किड्नी हस्पिटलमा चेकजाँच गराउँदा उनको दुबै मृगौला फेल भएको पत्ता लाग्यो । २२ वर्षको कलिलो उमेरमै दुबै मृगौला फेल भएपछि ममता जीवन मरणको दोसाँदमा बाचिरहेकि छन भने उनको परिवार चिन्तित अवस्थामा छ ।

ममताको छ वर्षिय छोरा छन । छ महिना अघिमात्र दुबै मृगौला फेल भएको थाहा पाएपछि उनीहरु नेपाल फर्केका थिए । सम्पत्तिको नाममा आफुहरुको दशधुर ऐलानी जग्गामा बनेको सानो टिनले छाएको दुईकोठे घरमात्र भएको ममताका श्रीमान सुमन शाहले बताए ।

सुमनका अनुसार हाल ममताको कोहलपुर मेडिकल कलेजमा डाईलोसिस भईरहेको छ । कोहलपुर नगरपालिकाले गरेको एक लाख रुपैया बरावरको सहयोगले कोहलपुर मेडिकल कलेजमा ममताको हप्ताको तीन पटक डाईलोसिस भईरहेको छ ।

नेपालमा मृगौला फेर्न १० देखि १२ लाख रुपैयाँ लाग्ने भएपनि आफुहरुसम्म पैसा नहुँदा समस्या भएको शाहले बताए ।

कसैले मृगौला दान गरे ममताको जीवन बचाउन सकिने चिकित्सकहरुले भनेपछि ममताका बुवा कालीबहादुर टमटा आफ्नो छोरीकालागी मृगौला दिन तयार भएका छन । उनले भने “म छोरीको लागि मृगौला दिन तयार छु तर मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च जोहो नहुँदा हामी समस्यामा छौ ।” उनका अनुसार गाँउघरमा सहयोग चन्दा संकलन गरेर आएको पैसाले उनको औषधी खान ठिक्क हुन्छ ।

ममताको मृगौला प्रत्यारोपण गर्नको लागि लाग्ने खर्च जुटाउन ममताका बुवा र उनको घरपरिवारले मनकारी सहयोगी दाताहरुलाई आर्थिक सहयोगको अपिल गरेका छन ।

ममताको घरपरिवार र माईती दुबै ज्याला मजदुरी गरी खाने बिपन्न परिवार छन । ममताका श्रीमान सुमन र बुवा दुबैजनाले ऋण सरसापटी माग्न पनि हिडे तर पाएनन् ।

ममताका बुवाले भने, “ऋण सापटी माग्न धेरै ठाँउ गईयो तर कसैले पत्याएनन् ।” जसले पनि हुनेखाने र सम्पत्ति भएकै मान्छे लाई पत्याउने भन्दै उनले दुखेसो पोखे । कसैले ऋण दिन नपत्याएपछि मृगौला पिडित ममताकै नामबाट ग्लोबल आईएमई बैंकमा आर्थिक सहयोग संकलनकालागी खाता खोलिएको बताउँदै उनले आफ्नो छोरीको जीवन रक्षाकालागी सहयोग गर्न सबैमा अपिल गरेका छन ।

  • २२ माघ २०८०, सोमबार १८:०९ प्रकाशित
  • Nabintech