२० माघ, काठमाण्डौं । बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीले यो प्रकरणमा दाजु विनोद चौधरीको पनि भूमिका रहेको बयान दिएका छन् ।
पक्राउ परेका अरुणसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार १० घण्टा सवाल-जवाफ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा ३ जना सरकारी वकिलको रोहवरमा शुक्रबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म लिएको बयानका क्रममा अरुणले उक्त कुरा बताएका हुन् ।
सरकारी वकिल कार्यालय उच्च स्रोतका अनुसार पक्राउ परेका अरुणले बयानका क्रममा दाजु विनोदको भूमिकाका बारेमा बयान दिएका छन् ।
“तत्कालीन सञ्चालक समिति अध्यक्षका नाताले दाजु विनोद चौधरीको पनि भूमिका छ । उहाँकै भूमिका र योजनामा उक्त जग्गा शेयर दिएर किनिएको हो” सरकारी वकिल कार्यालय स्रोतले भन्यो ।
कानूनले मिल्ने भए उक्त जग्गा फिर्ता गर्नसमेत आफू तयार रहेको स्पष्ट पारेका छन् । “कानूनले मिल्ने भए आफ्नो नाममा आइसकेको उक्त सरकारी जग्गा फिर्ता गर्न तयार छु” उनले बयानमा भनेका छन् ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले आफ्नो नाममा कीर्ते गरी हत्याएको आरोपमा सीआईबीले चौधरी अरुणसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको छ ।
सोही प्रकरणमा सीआईबीले अरुणसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापा र सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।
यस प्रकरणमा कांग्रेसका सासंदसमेत रहेका विनोद चौधरी पनि जोडिएका छन् । सीआईबीले भाइ अरुणलाई पक्राउ गरे पनि दाजु विनोदलाई भने पक्राउ गरेको छैन ।
२० माघ २०८०, शनिबार १३:११ प्रकाशित