प्रधानमन्त्री कपकाे फाईनल आज, उपाधिकालागी पुलिस र आर्मी भिड्दै
  • काँचुली खबर

२० माघ, काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

पुलिस क्लब लिग चरणको खेलमा पहिलो हुँदै फाइनलमा पुगेको हो । आर्मी क्लबले भने लिग चरणको खेलमा दोस्रो हुँदै फाइनलमा पुगिससँगको भिडन्त पक्का गरेको हो । लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान थियो ।

प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौ वटा खेल खेलेका थिए । लिग चरणमा पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भएको थियो । जारी प्रतियोगितामा आफूले खेलेका सबै खेलमा जित हात पार्ने पुलिस एकमात्र टोली हो । तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कुल १८ अंक बटुलेको थियो ।

आर्मी क्लबले भने लिग चरणमा आफूले खेलेका नौमध्ये सात खेलमा सफलता हात पारेको थियो । दुई खेलमा आर्मी क्लब पराजित भएको थियो । आर्मी क्लबलाई लिग चरणमा बागमती प्रदेशले तीन विकेट र पुलिस क्लबले १३ रनले पराजित गरेका थिए । तालिकामा दोस्रो हुने क्रममा आर्मी क्लबले १४ अंक बटुलेको थियो ।

लिग चरणको खेलमा सर्वाधिक कुल स्कोर बनाउने टोलीको सूचिमा आर्मी दोस्रो र पुलिस क्लब चौथो स्थानमा रहेका थिए । लिग चरणमा सर्वाधिक स्कोर बनाउने टोली भने मधेस प्रदेश थियो । मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको थियो ।

यसैगरी आर्मी क्लबले मधेस प्रदेशविरुद्धको खेलमा तीन सय २० रन बनाएको थियो । मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो । पुलिस क्लबले भने बागमती प्रदेशविरुद्धको खेलमा आठ विकेट गुमाएर दुई सय ८२ रन जोडेको थियो ।

यसैगरी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा आर्मी क्लबका विनोद भण्डारी तेस्रो स्थानमा रहेका छन् । उनले लिग चरणको खेलमा कुल तीन सय ४९ रन बनाएका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा मधेस प्रदेशका अनिल शाह र दोस्रो स्थानमा बागमती प्रदेशका आशुतोष घिरैया छन् । अनिलले तीन सय ८६ र आशुतोषले तीन सय ८२ रन बनाएका छन् ।

लिग चरणको खेलमा पुलिस क्लबका लागि सर्वाधिक रन बनाउने खेलाडी भने दिलिप नाथ हुन् । उनले हालसम्म प्रतियोगितामा कुल दुई सय ३२ रन बनाएका छन् । पुलिस क्लबकै अर्जुन साउदले पनि हालसम्म दुई सय ३२ रन बनाएका छन् । पुलिस क्लबका अर्का ब्याट्सम्यान आरिफ शेखले पनि दुई सय २९ रन बटुलेका छन् ।

यसैगरी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचिमा आर्मी क्लबका साहब आलम तेस्रो र पुलिस क्लबका ललित राजवंशी चौथो स्थानमा आसिन छन् । साहब आलमले २२ र ललितले २० विकेट लिएका छन् । सर्वाधिक विकेट लिने बलर भने बागमती प्रदेशका सूर्य तामाङ हुन् । उनले ३० विकेट लिएका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका सुदूरपश्चिम प्रदेशका शेर मल्लले २४ विकेट हात पारेका छन् ।

लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि बागमती प्रदेश र मधेस प्रदेश भने थोरै अन्तरले मात्र उपाधि होडबाट बाहिरिन पुगेका थिए । बागमती प्रदेशले नौ खेलबाट ६ जित र तीन हारको नतिजा निकाल्दै १२ अंक जोडेको थियो । अंक तालिकामा बागमती प्रदेश तेस्रो भएको थियो ।

यसैगरी ६ जित र तीन हारको नतिजा निकालेको मधेस प्रदेश पनि १२ अंकसहित चौथो भएको थियो । मधेस प्रदेश नेट रन रेटमा बागमती प्रदेशसँग पछि परेको थियो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब १० अंकसहित पाँचौँ भएको थियो । एपीएफ क्लबले पाँच जित र चार हारको नतिजा निकालेको थियो ।

यसैगरी आठ अंक जोडेको सुदूरपश्चिम प्रदेश छैटौँ र समान अंक बटुलेको कर्णाली प्रदेश सातौँ भएका थिए । सुदूरपश्चिम प्रदेशले चार खेलमा जित र पाँच खेलमा हार ब्यहोरेको थियो । कर्णाली प्रदेशले चार जित र पाँच हारको नतिजा निकालेको थियो ।

लिग चरणमा चार अंकसहित गण्डकी प्रदेश अठौँ, दुई अंकसहित लुम्बिनी प्रदेश नवौँ र समान अंक बटुलेको कोशी प्रदेश १०औँ स्थानमा रहेका थिए । गण्डकी प्रदेशले दुई जित र सात हार, लुम्बिनी प्रदेशले एक जित र आठ हार तथा कोशी प्रदेशले एक जित र आठ हारको नतिजा निकालेका थिए ।

  • २० माघ २०८०, शनिबार ०९:०२ प्रकाशित
  • Nabintech