१९ माघ, काठमाण्डौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको हो ।
भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेले । सचिनले एक सय १६ रन बनाए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । उदयले सय रन बनाए । उनले एक सय सात बलमा नौ चौकाको सहयोगमा शतक बनाए ।
यस्तै ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाए ।
बलिङमा नेपालका गुलशन झाले तीन तथा अकाश चन्दले एक विकेट लिनुभयो ।
नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।
भारत प्रतियोगितामा अपराजित रहँदै तीन खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । भारत पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ ।
१९ माघ २०८०, शुक्रबार १७:४७ प्रकाशित