अब नेपालगन्जबाटै कैलाश मानसरोवर सिधा उडान
  • काँचुली खबर

१५ माघ, नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेस ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए । पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुशी व्यक्त गर्दै नेपालगन्ज पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको बताए ।

नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटन प्रर्वद्धनमा नेपालगन्ज-कैलाश मानसरोवर उडान फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालगन्ज-पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । रासस

  • १५ माघ २०८०, सोमबार १८:२४ प्रकाशित
  • Nabintech