नागरीक सहायता कक्ष तथा सेवा केन्द्रको उद्घाटन
  • काँचुली खबर

१४ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र निर्मित नागरीक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको भवन उद्घाटन गरीएको छ । आईतबार एक समारोहका बिच कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य र लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) कुबेर कडायतले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।

कोहलपुर नगर विकास समितिको आर्थिक सहयोगमा निर्माण भएको ४ कोठे भवनको उद्घाटन गर्दै कार्यकमका प्रमुख अतिथि नगर प्रमुख आचार्यले ईलाका प्रहरी कार्यालय कोहलपुरले नमुना काम गरेको भन्दै प्रशंसा गरेका थिए । कोहलपुर प्रहरी प्रमुखका रुपमा सुन्दर तिवारीले अहिलेसम्मकै उत्कृष्ठ कार्यसम्पादन गरेको उल्लेख गर्दै आचार्यले आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कर्मचारीलाई दैनिक प्रसाशनिक काम गर्नकालागी राजनैतिक दलले हस्तक्षेप गर्न नहुने तर्क गर्दै आचार्यले जनता प्रति सधै बफादार रहने राष्ट्रसेवकहरुलाई बिना कुनै दवाव काम गर्ने वातावरण सृजना गर्न सबैलाई आग्रह समेत गरेका थिए ।

कार्यकममा बोल्दै विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) कुबेर कडायतले आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशमा उत्कृष्ट सेवा प्रवाह गर्ने बताए ।

सोही अवसरमा बाकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले हरेक ब्यक्तिले आफ्नो जिम्मेवारी पुरा गरे शुसासन कायम गर्न मद्धत्त पुग्ने भन्दै बाँकेलाई शुसासनमैत्री जिल्लाका रुपमा स्थापित गर्न हरसम्भव प्रयास भईरहेको जिकिर गरे । उनले राजनीतिक दल बिना कुनै काम सम्भब नरहेको बताउदै कर्मचारीलाई तेरो मेरो नभनी नीति नियम अनुसार चल्न प्रेरित गर्नु पर्ने बताए ।

बाँके प्रहरी प्रमुख (एसपी) सुवास बोहोराले इलाका प्रहरी कार्यालय कोहलपुरमा भएको नबिनतम प्रयासलाई निरन्तरता दिने बिश्वास ब्यक्त गर्दै अरु कार्यालय प्रमुखले पनि अबका दिनमा सिको गर्ने बातावरण तयार भएको बताए ।

कार्यक्रममा भवन निर्माणको उद्धेश्य प्रष्ट पार्दै डिएसपी सुन्दर तिवारीले इलाका प्रहरी कार्यालय कोहलपुरलाई प्रविधिसँगै जनमैत्री बनाउने प्रयास गरीएको जिकिर गरे । कार्यालयबाट प्रवाह हुने सेवालाई चुस्त र प्रभावकारी बनाउन नागरीक सहायता कक्ष र महिला, बालबालीका तथा जेष्ठ नागरीक सेवा केन्द्र निर्माण गरीनुका साथै सौन्दर्यीकरण तथा वालमैत्री वातावरण निर्माणमा प्राथमिकताका दिईएको तिवारीले बताए ।

उनले प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुकालागी कार्यालय परिसरभित्रै नि:शुल्क निवेदन लेख्ने ब्यवस्था समेत मिलाएको बताए । जसअन्तर्गत आईतबारसम्म १ हजार ८३० सेवाग्राहीलाई निशुल्क सेवा प्रदान गरीएको तिवारीले जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रहरी तथा कर्मचारीलाई पुरस्कृत गरीएको थियो भने भवन निर्माण तथा सामुदायीक प्रहरी साझेदारी अन्तर्गत उल्लेखनीय समन्वय, सहकार्य र योगदान पुर्याउने संघसंस्था र ब्यक्तिहरुलाई कदर पत्र वितरण गरीएको थियो ।

  • १४ माघ २०८०, आईतवार १९:२४ प्रकाशित
  • Nabintech