“हत्कडी” लगाउनकैलागी काठमाण्डौंदेखी कोहलपुरसम्मको यात्रा
  • काँचुली खबर

१४ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एउटा अनौठो घटना घटेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार एक युवाले ‘हत्कडी लगाउन’ कै लागी काठमाण्डौंदेखी कोहलपुरसम्मको यात्रा गरेका छन ।

मुगु घर भएका पदमबहादुर शाही (नाम परिवर्तित) गत साता इलाका प्रहरी कार्यालय कोहलपुर पुगे । आफन्तसँगै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीको कार्यकक्षमा पुगेका ति युवाले आफ्नो हातमा “हत्कडी” लगाईदिन आग्रह गरे ।

सुरुमा सामान्य रुपमै प्रस्तुत भएका १७ वर्षीय युवाले एकाएक ‘हत्कडी लगाइ माग्न आएको सर’ भन्दा आफु आश्चर्यमा परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तिवारीले बताए । “न कार्यालयमा कुनै मुद्धा परेको छ । न त कुनै कसुर गरेको निवेदन नै परेको छ । एक निर्दोष मान्छेलाई कसरी हत्कडी लगाइदिने” आश्चर्य भावमा तिवारीले भने ।

विस्तारै कुरा बुझ्दै जाँदा घटनाको रहश्य खुलेको बताउँदै तिवारीले भने, “खासमा कुरा धार्मिक अन्धविश्वाससँग जोडिएको रहेछ । मुगुमा रहेका आमाबुबाले छोराको भविश्यका विषयमा गाउँकै धामी कहाँ हेराएका रहेछन् । धामीले छोरालाई हत्कडी लाग्ने योग छ भनेकाले परिवारकै दवावमा युवा हत्कडी लगाउन कोहलपुरसम्म आएका रहेछन ।”

“धामीकै कुरामा बहकीएर ‘एकपटक हत्कडी लगायो भने त्यो दोष कट्टा हुन्छ’ भन्ने विश्वासका साथ परिवारका सदस्यहरुले दवाव दिएको देखियो” तिवारीले भने । धामीले भनेको कुरालाई विश्वास गरेर शाहीका आमाबुबाले कोहलपुरमा बसोबास गर्दै आएका अंकल अन्टीलाई भनेछन् । कोहलपुरमा रहेका अंकल अन्टीले पनि कोहलपुरमा बोलाउन सुझाव दिएछन् । ती युवकलाई उदृध गर्दै डिएसपी तिवारीले भने, “म आउन मानिरहेको थिइन । आमाबुवाले प्रेसर गर्नुभयो । अंकल अन्टीले पनि आउन भनेपछि यहाँ आएको हुँ ।”

युवासँग आएका आफन्त पनि अशिक्षित भने थिएनन् । दुवै जना पढेलेखेका समाजका गन्यमान्ने नै थिए । ४२ वर्षसम्म शिक्षण गरेका । केही वर्ष मात्रै अवकास पाएका रहेछन् । तिवारीका अनुसार उनिहरुले प्रहरी कार्यालयमा पनि युवकलाई दोष कट्टा गर्नको लागि जोडबल गरिरहेका थिए । “उहाँहरु अहिलेपनि कत्रो ठूलो भ्रम बोकेर बसिरहनु भएको रहेछ । मैले निकैबेर सम्झाए” उनले भने, “बल्ल बल्ल मान्नुभयो । हेर्नुहोस् त हाम्रो समाज अहिलेपनि कहाँ छ । कस्तो अन्धविश्वास बोकेर बसिरहेको छ ।”

उनले आफूले अहिलेसम्मको प्रहरी करिअरमा अनौठो घटना घटेको बताए । समाजमा अहिलेपनि यस्तै थुप्रै अन्धविश्वास कायम रहेको भन्दै सबै मिलेर यस्ता भ्रम चिर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

  • १४ माघ २०८०, आईतवार १८:३९ प्रकाशित
  • Nabintech