६ माघ, नेपालगन्ज। नेपालगन्ज रंगशालामा निर्माण गरीएका संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । संघीयता कार्यान्वयन पछि स्थानीय तह, जिल्ला र प्रदेश मध्ये रंगशाला कसको मातहतमा रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साविक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जका कार्यलय प्रमुख महेश चन्दले बताए ।
चन्दका अनुसार नबौं राट्रिय खेलकुदपछि नेपालगन्ज रंगशालामा खेलका कुनै गतिविधि संचालन भएका छैनन् ।
उनले भने, ‘यहाँ यत्रो संरचना छ । केन्द्रले नै अनिर्णयको बन्दी बनेका कारण न त खेल गतबिधि हुन सकेको छ । नत यसको संरक्षण नै ।’ उनले नेपालगञ्ज रंगशालाका लागि आवश्यक कर्मचारी तथा मर्मत संभारको जिम्मेवारी र रकम कुनै पनि नआउनु दुर्भाग्य भएको बताए ।
उनले भने, ‘म यहाँको कार्यालय प्रमुख हुँ तर यहाँ हुने कुनै पनि गतिविधि मलाई थाहा छैन । यहाँ निर्माण भएको, के निर्माण हुँदै छ त्यसको पनि जानकारी छैन । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा निर्माण भएका संरचना खण्डहर बन्दैछन । एउटा नटबोल्ट कस्ने र खोल्ने अधिकार हामीलाई छैन ।’
नेपालगन्ज रंगशालाको रेखदेख गर्ने जिम्मेवारी जिल्ला प्रदेश तथा स्थानीय तहलाई नदिएर केन्द्रले नै आफ्नो मातहातमा रखेका कारण खेलकुदका गतिविधिहरु प्रभावित बनेको उनको भनाई छ ।
तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले २०७५ सालमा आठौ राट्रिय खेलकुद प्रतियोगिताकालागी २५ करोडको लागतमा संरचना निर्माण गरिएपनी खेलकुद परिषदले रंगशाला संरक्षण र सञ्चालनको अनुमती नदिँदा खण्डहरमा परिणत हुने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘यति ठूलो संरचना छ । कस्को अधिनमा यसको सञ्चालन गर्ने भन्ने किटान नहुँदा यसको सरक्षण हुन सकेको छैन । यहाँ खेल गतिविधि हुन सकेको छैनन् । यसले राज्य र खेलाडि दुबैलाई घाटा हुँदै गएको छ ।’
राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य विनोद मैनालीले राज्यले खेलकुदमा नयाँ नयाँ संरचना बनाउदै जाने तर, भएका संरचनालाई संरक्षण नगर्ने रणनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकेको औल्याए ।
प्रतिनिधि सभामा शिक्षा स्वास्थ्य, सूचना, युवा र खेलकुद समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य दिपा शर्माले आठौ खेलकुदका संरचनाहरु राज्यले संरक्षण गर्न नसक्दा नेपालगन्ज रंगशाला खण्डहर भएको आफुले अनुगमनका क्रममा पाएको र यस विषयमा संवन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने बताईन ।
लामो समय देखिको मर्मतसंभारको अभावका कारण करोडौ रुपैया खर्चेर निर्माण गरिएको स्टेडियम, प्याराफिट, पौडी पोखरीलगायतका खेलकुदका पूर्वाधार र संरचना खण्डहरमा परिणत हुँदै गएका छन ।
६ माघ २०८०, शनिबार १४:५९ प्रकाशित