६ माघ, नेपालगन्ज । नेपालगन्जका विभिन्न अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्नेलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट तिन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार माघ ४ गते नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा आएका बिरामी तथा कुरुवाहरूको मोबाइल चोरी गरी भाग्ने क्रममा नेपालगन्ज-२२ का हकिकत अलि किङ्गरियालाई पक्राउ गरीएको हो ।
त्यसैगरी यही माघ ३ गते नेपालगन्ज-९ स्थित घरमा चार्जमा जोडेर पार्किङ गरी राखेको इ-रिक्सा चोरी गर्ने नेपालगन्ज-१५ का गुड्डु जसगढलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै माघ ४ गते नेपालगन्ज-१० भृकुटिनगरबाट पार्किङ गर राखेको ने १ ह १०३६ नम्बरको इ-रिक्सा चोरी गरेर भाग्दै गरेका अवस्थामा प्रहरीले नेपालगन्जका राजु जसगढलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले केही दिनयता इ-रिक्सालगायत अस्पतालमा मोबाइल चोरी भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले सक्रियता बढाउँदा उनीहरूलाई पक्राउ परेको बताए ।
पक्राउ परेकाहरूलाई चोरी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी डाँगीले जानकारी दिए । यस प्रकारका चोरीमा संलग्न अरू पनि हुन सक्ने हुँदा थप छानबिन भइरहेको उनको भनाइ छ ।
-गोरखापत्रबाट
६ माघ २०८०, शनिबार १४:४२ प्रकाशित