२ माघ, नेपालगन्ज । नेपालगन्जमा नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ निर्माण गरीएको छ । स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि नेपालगन्जमा दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरीएको हो । स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौँ र बाँके जिल्ला साइक्लिङ सङ्घबिच त्रिपक्षीय सम्झौता भई पम्प ट्रयाक निर्माण सुरु भएको बाँके जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष गगन थापाले जानकारी दिए ।
सो काममा सहयोग गर्न खटिएका विदेशी नागरिकलाई सम्मानसहित बिदाइ गरिएको छ । थापाका अनुसार अष्ट्रेलिया, जर्मनी र स्वीट्जरल्याण्डबाट साइकल पम्प ट्रयाकमा सहयोग गर्न आएका भेलेन्टिन कोच, बल्दुर मन्डली, मोरिच स्टेयर, क्लाउडिओ कलोरीसहित ५ जनालाई सम्मान गरिएको हो ।
अध्यक्ष थापाका अनुसार निर्माण सुरु भएको केही दिनमै साइकल पम्प ट्रयाकको काम सम्पन्न भएको हो । करिब एक सातासम्म नेपालगन्जमा रहेर विदेशी नागरिकले साइकल पम्प ट्रयाक निर्माणको काम सम्पन्न गरेका हुन् ।
उनीहरूमध्ये तीन जना स्वीट्जरल्याण्डका, एकजना जर्मनी र एकजना अष्ट्रेलियाका हुन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र वडा १ का अध्यक्ष प्रमोद रिजालले विदेशी नागरिकलाई नेपाली टोपीसहित मायाको चिनो प्रदान गरी सम्मान गरेका छन ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा १ धम्बोझीमा वडा कार्यालयको पहलमा शिवशक्ति पार्वती मन्दिरले करिब चार कठ्ठा जग्गा उपलब्ध गराएपछि बाँके जिल्ला साइक्लिङ सङ्घले पम्प ट्रयाक निर्माण गरेको हो ।
बाँके जिल्ला साइक्लिङ सङ्घका अनुसार, कन्सल्टेन्सीसहित जमिन छाडेर करिब एक करोड ३५ लाखमा पूरा हुने अनुमान गरेको छ । जसमध्ये भेलोसोलुसनले प्राविधिक र अन्य व्यवस्थापन खर्च बाहेक २५ हजार डलर सङ्घलाई उपलब्ध गराएको छ । जसको अन्तिम किस्ता काम सम्पन्न भएपछि भुक्तानी हुनेछ ।
पाँच लाख रुपियाँ बजेटसँगै आवश्यक उपकरणको सहयोग नेपालगन्ज उपमहानगरपालिका गरेको छ । शिक्षण अस्पताल नेपालगञ्जले दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । ट्रयाकमा अब रङ्गाउन मात्र बाँकी छ । ट्रयाकको सुरक्षाका लागि वरिपरि माटो पाटन र दुबो लगाउने, लाइटिङ र पर्खालको काम क्रमशः गरिने सङ्घका सचिव विज्ञान कक्षपतिले बताए ।
२ माघ २०८०, मंगलवार १३:४१ प्रकाशित