नेपालगन्जको मसलालाई ब्राण्डीङ गरीरहेका शुक्ला दिदिबहीनी
  • काँचुली खबर

२४ पुष, नेपालगन्ज । नेपालगन्जकी प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको ‘भुटेको मसला’ उनलाई खुबै मनपर्छ।

उनी आमाले बनाएका तिनै अचार र मसला स्वाद मानेर खान्थिन्। आजकाल आफैं बनाउँछिन्।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनी काठमाडौंमा स्नातक पढ्न जाँदा घरबाट ल्याएको अचार साथीहरूलाई पनि खुवाउँथिन्। अरूलाई खुवाउने स्वभाव र उद्यमी बन्ने सपनासँगै २६ वर्षीया प्रियंका मसला व्यवसायी भएकी छन्।

‘पहिले आमा हाम्रा लागि बनाउनुहुन्थ्यो। अहिले म तिनै रेसिपी नेपाली बजारमा विस्तार गर्दैछु’ प्रियंकाले भनिन्, ‘बजारबाट आउने प्रतिक्रियाले व्यवसाय गर्न हौसला दिन्छ। स्थानीय उत्पादन ठूलो बजारमा पुर्‍याउने लक्ष्य छ।’

प्रियंका घरेलु उद्यमअन्तर्गत दर्ता भएको ‘सत्व फूड प्रोडक्ट्स’ की संस्थापक र सञ्चालक हुन्। उनीसँगै दिदी पुनम पनि छिन्।

यो कम्पनी २०७८ पुसमा दर्ता भएको हो। यसले ‘चटपटे छोप’ नाममा भुटेको मसला र अलैंची, टिमुर, दालचिनी इत्यादिको मसला बनाउँछ। लसुनको र खुर्सानी-लसुनको अचारका साथै बेसार पनि पाइन्छ।

प्रियंकाका अनुसार सत्वका उत्पादनहरूमा मिसावट हुँदैन, स्वस्थकर हुन्छ। ‘सत्व’ शब्दको अर्थ ‘सफा’ भन्ने हुन्छ। अधिकांश कच्चा सामग्री नेपाली हो।

‘मसला, चटपटे छोप र अचार बनाउने सबै कच्चा सामग्री नेपालकै विभिन्न ठाउँबाट ल्याउँछौं। नेपालमा उब्जनी नहुने थोरै सामग्री बजारमा किन्छौं’ उनले भनिन्।

सत्वका मसला र अचारको मुख्य बजार काठमाडौं उपत्यका हो। हाल काठमाडौंमा मात्र मासिक कम्तीमा ५० हजार रूपैयाँको बिक्री हुँदैछ। यहाँ सामान्यतया ५० ग्राम तौलको प्याकेजिङमा मसला पाइन्छ। चटपटे छोप भने सय ग्रामको हुन्छ। मूल्य ४५ रूपैयाँदेखि दुई सय रूपैयाँसम्म छ।

अचारको व्यापार भर्खरै सुरू भएकाले अहिले नै हिसाब सुनाउने बेला नभएको प्रियंकाको भनाइ छ।

कम्पनीको सञ्चालन र व्यवस्थापनमा प्रियंका र पुनमसँगै अरू चार जना छन्। सञ्चालन र वितरण जिम्मेवारी प्रियंकाले लिएकी छन्। बजार र कच्चा सामग्री व्यवस्थापन जिम्मा पुनमको हो।

उनीहरूका बुबा जडिबुटी व्यवसायमा संलग्न छन्। उनका आमाबुबा जडिबुटी र मसलाले हुने फाइदाका कुरा सुनाउँथे। प्रियंका र पुनम पनि यसमै अभ्यस्त भए।

पछि पुनम कामको सिलसिलामा भारत गइन्, प्रियंका स्नातक पढ्न काठमाडौं आइन्। होस्टल बस्दा प्रियंकाको विभिन्न समुदायका साथीहरूसँग दोस्ती भयो। उनीहरूबीच ‘घरको खाना’ बारे कुरा हुन्थ्यो। एकअर्काको घरबाट कहिलेकाहीँ आएको परिकार बाँडेर खान्थे।

प्रियंकाले अचार र छोप लैजान्थिन् तर अरू साथीले ल्याएको भन्दा फरक हुन्थ्यो।

‘हरेक समुदायको खानपिनमा बेग्लाबेग्लै स्वाद हुँदो रहेछ। साथीहरूले ल्याएको र मैले ल्याएको अचारमा पनि धेरै फरक पाएँ’ अवधी समुदायकी उनले भनिन्, ‘आँपकै अचार पनि धेरै तरिकाले बनाउन मिल्ने रहेछ।’

मसला र अचारमा प्रियंकाको रूचि बढ्दै गयो। बजार अध्ययन गरिन्, अनेक थरी फेला पारिन्। जानेसम्मको परीक्षण गरिन्। अचार स्वादिलो बनाउन र लामो समय सुरक्षित राख्न रासायनिक वस्तुहरू प्रयोग गरेको फेला पारिन्। उनी आफ्नो खोजबाट प्राप्त जानकारी दिदी पुनमलाई सुनाउँथिन्।

कोरोना फैलिएपछि प्रियंका नेपालगञ्ज फर्किन्। पुनम कोभिड फैलिनुअघि नै आइसकेकी थिइन्।

उनीहरूका बुबा सधैं व्यस्त रहन्थे। कामकै सिलसिलामा नेपालका अनेक भेगमा पुग्थे। महामारीको समयमा पनि घुम्न छाडेनन्। प्रियंकाले पनि बुबासँग पहाडी भेग घुम्ने मौका पाइन्। विभिन्न किसिमका जडिबुटीहरूबारे जानकारी भयो। नेपालका जडिबुटी कच्चा अवस्थामै विदेश पठाउने गरेको थाहा पाइन्।

‘जडीबुटी धेरै पाइने क्षेत्रमा बिचौलिया धेरै हुने रहेछन्। तिनैले किसानबाट सस्तोमा किनेर निर्यात गर्ने रहेछन्’ उनले भनिन्, ‘त्यही सामग्री फेन्सी प्याकेजिङमा नेपालमा भित्रिएर महँगोमा बिक्दो रहेछ।’

उनले जडिबुटीबाट विशेष किसिमका मसला बनाएर बजारमा पुर्‍याउनु उचित हुने ठानिन्। दिदीबहिनीबीच लामो छलफल भयो। उनीहरू मसला व्यवसाय गर्ने निष्कर्षमा पुगे। योजनाअनुसार २०७८ पुसमा ‘सत्व फूड प्रोडक्ट्स’ नाम राखेर घरेलु उद्योग दर्ता गराए।

चटपटे छोप उनीहरूले सुरूमा आफन्त र साथीहरूलाई खुवाएर प्रतिक्रिया लिए।

‘सानो प्याकेट बनाएर खल्तीमै बोकेर हिँड्थेँ। साथीहरू भेट्दा दिन्थेँ। खाएर प्रतिक्रिया दिन भन्थेँ’ प्रियंकाले भनिन्।

सकारात्मक प्रतिक्रिया पाएपछि हौसला बढ्यो। २०७९ सालमा चटपटे छोप बनाएर बजार पुर्‍याए। यससँगै तेजपात, दालचिनी, टिमुर, बेसार प्याकेजिङ गरे।

चटपटे छोप धनियाँ, खुर्सानी र लसुन भुटेर बनाइएको मसला हो। नुन पनि राखिएको हुन्छ। पिरो र नुनिलो भएर अचार जस्तो हुने भएकाले चटपटे छोप नाम राखिएको उनले बताइन्।

‘तराईतिर तरकारी नपाइने बर्खाको समयमा खानासँग चटपटे छोप खान मिल्छ। भुटेर बनाएको यो मसला धेरैको रोजाइमा परेको छ’ प्रियंका भन्छिन्, ‘गृहिणीहरूले धेरै मन पराउनुभएको छ।’

प्रियंकाका अनुसार पौने दुई वर्षको व्यावसायिक अनुभव सन्तोषजनक छ। केही ग्राहकले अलि महँगो भयो भन्छन्। ठूलो परिमाणमा पाइने मसलाको तुलनामा आफ्नो उत्पादन केही महँगो भएको उनी स्वीकार गर्छिन्।

‘भारतबाट सस्तो मसला आउँछ तर त्यसमा गुणस्तरको समस्या छ। खराब मिसावट नगरी राम्रो मसला बनाउँदा भारतीय जस्तो सस्तो हुँदैन’ उनले भनिन्, ‘बिस्तारै ग्राहकहरूलाई गुणस्तर थाहा हुँदैछ। व्यापार बढ्दैछ।’

उनीहरूले नेपालगञ्जको आफ्नो घरबाटै मसला उत्पादन थालेका थिए। मुख्य बजार भने काठमाडौं उपत्यका हो।

यसको कारण खुलाउँदै प्रियंकाले भनिन्, ‘नेपालगञ्ज भारतीय बजारबाट नजिक छ। तुलनात्मक रूपमा महँगो मसला बिक्री भएन। तीन महिनापछि हामीले काठमाडौं पुर्‍यायौं र अनलाइनबाट बिक्री सुरू गर्‍यौं। व्यापार बढ्न थाल्यो।’

अहिले सत्वको उत्पादन दराज, फार्म टु फिंगर, केके मार्टसँगै कम्पनीको सामाजिक सञ्जाल र वेबसाइटबाट किन्न सकिन्छ।

अहिलेकै रफ्तारमा व्यापार बढ्दै गए स्थानीय उत्पादन छिटै ठूलो बजारमा पुर्‍याउने र अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास गर्ने प्रियंका र पुनमको लक्ष्य छ।

‘युवाहरू कुनै नयाँ अवधारणा लिएर अघि बढ्नुपर्छ। सानै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिन्छ तर धैर्य गुमाउनु हुँदैन’ उनीहरू भन्छन्।

-सेतोपाटीबाट

  • २४ पुष २०८०, मंगलवार १७:३९ प्रकाशित
  • Nabintech