नियमविपरीत चलिरहेका ६ सय २३ ई-रिक्सालाई कारबाही
  • काँचुली खबर

२४ पुस, नेपालगन्ज । ई-रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप-महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई-रिक्सालाई नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज उप-महानगरपालिकाको नगर प्रहरीले ई-रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई-रिक्साले नेपालगन्ज नगरपालिकाले पछिल्लो समय कारबाही गरिरहेको छ ।

जसअन्तर्गत आइतबार ३२ वटा ई-रिक्सालाई नियन्त्रणमा लिएको नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाले बताए ।

नियन्त्रणमा लिइसकेपछि आवश्यक कागजात लिएर आएका १५ ई-रिक्सालाई छाडेको उनले बताए । नेपालगन्ज नगरमा ई-रिक्साको सङ्ख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या देखिएको थियो । ई-रिक्सा चालकहरूमा ट्राफिक नियमको बारेमा जानकारी नहुँदा दुर्घटनाको सङ्ख्या पनि बढिरहेको थियो ।

ई–रिक्सा व्यवस्थापनमा चुनौती देखिएका बेला नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्टले व्यवस्थापनको कार्यविधि बनाएर काम गरेका थिए ।

नगरले ई-रिक्सा आवश्यक कागजात चेकजाँचमा कडाइ गरेपछि ई-रिक्सा चालकहरूले दर्ता गर्ने, चालक अनुमति पत्र लिने क्रम बढेको छ । गत मङ्सिर १९ गते देखि ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपालगन्ज नगर प्रहरीले ई-रिक्सा चेकजाँच गर्न सुरु गरेको थियो । त्यसयता नियमविपरीत चलिरहेका ६ सय २३ ई-रिक्सालाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक कागजात लिएर आएका ५ सय ३१ वटा रिक्सालाई कुनै पनि जरिवाना नगरी छोडिसकेको सहायक निरीक्षक कनोजियाले बताउनुभयो । कागजात बिना चलेका ९२ ई-रिक्सालाई नगर प्रहरीले अझ नियन्त्रणमा लिइरहेको उनले जानकारी दिए ।

गाेरखापत्रबाट

  • २४ पुष २०८०, मंगलवार ११:३० प्रकाशित
  • Nabintech