१९ पुष, राप्तिसोनारी । बाँकेको पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोकिदा १४ जना घाइते भएका छन् ।
राप्तिसोनारी गाउँपालिका २ मुगुवा खोला नजिकै बझाङबाट काठमाडौं तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४१४ नम्बरको यात्रु बाहक बस र पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख ७४०८ नम्बरको ट्रक एक आपसमा ठोकिएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले जानकारी दिए ।
गएराती १ बजे बस र ट्रक एकआपसमा ठोकिंदा १४ जना घाइते भएका हुन् । घाइते भएकाहरु मध्ये १२ जनाको अवस्था सामान्य रहेको छ भने २ जनाको अवस्था गम्भीर रहेको सुबेदीले जानकारी दिए ।
घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार घाइते हुनेहरूमा ८ जना पुरुष रहेका छन् भने ६ जना महिला रहेका छन् ।
बस तीव्र गतिमा रहेको हुनाले चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको सुबेदीको भनाई छ ।
१९ पुष २०८०, बिहीबार १४:०७ प्रकाशित