प्रहरीले बालकुमारीमा गोली चलायो, २ जना गम्भीर घाइते
  • काँचुली खबर

१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ । युवाहरुको भिड अनियन्त्रीत हुँदै गएपछि प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् ।

एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि युवाहरुको समुहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको थियो ।

रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

आगजनी गर्ने युवाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको बुझिएको छ । यसैबिच प्रहरीले मन्त्री ज्वालाको गाडीमा आजगनी गर्ने ५ युवालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जनालाई पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

  • १३ पुष २०८०, शुक्रबार १४:२३ प्रकाशित
  • Nabintech