११ पुस, काेहलपुर । काेहलपुरमा सातौं अन्तर मा.वि. मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता सुरू भएकाे छ । कोहलपुर नगरपालिका-२ स्थित तेह्र विघा खेल मैदानमा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हाे ।
मेयर कपकाे उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिका व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेको बताएका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले खेलका माध्यमबाट चौतर्फी विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई पालिकाले प्राथमिकता दिएको बताए ।
‘अन्तर मा.वि. मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताले विद्यार्थीको अतिरिक्त क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्छ’ उनले भने, ‘यसले विद्यार्थीको शारिरीक, मानसिक र संवेगात्मक विकासमा पनि सकारात्मक प्रभाव पार्छ ।’
उनले बालबालिकाहरुको चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको समेत बताए । पालिकाले आयोजना गर्ने यस्ता प्रतियोगिताहरुले व्यवसायीक खेलाडी उत्पादनमा ठूलो प्रभाव पार्ने पनि उल्लेख गरे । उनले खेलकुद प्रतियोगितालाई निष्पक्ष बनाउन प्रशिक्षकहरुलाई निर्देशन पनि दिएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले गुणस्तरीय शिक्षासँगै खेलकुदको विकासका लागि पनि पालिकाले जोड दिइरहेको बताइन् । उनले खेलकुदका माध्यमबाट सामुहिक भावनाको विकास हुने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले खेलकुदप्रति बालबालिकाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताइन् ।
उनले खेलकदका माध्यमबाट बालबालिकाहरुको शारिरीकरुपमा मात्रै नभएर मानसिक र संवेगात्मक विकास समेत हुने भएकाले कोहलपुर अन्तर मा.वि मेयर कप एउटा उपयोगी माध्यम भएको बताइन् ।
प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयका १ हजार ३ सय ६७ खेलाडीले ५० मेडलका लागि प्रतिस्पर्धा गर्दैछन् ।
कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम समितिका अध्यक्ष बुद्धिबहादुर थापाको सभापतित्वमा भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म चल्ने छ ।
११ पुष २०८०, बुधबार ०७:३५ प्रकाशित