अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण
  • काँचुली खबर

२३ मंसिर, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी, कोहलपुर ४ नं. वडा कमिटिले वडा भित्र रहेका २० जना शारीरीक रुपमा अपाङ्ग व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । प्रत्येक शनिबार सामाजिक कार्य गर्नुपर्छ भन्ने मान्यताका साथ आज मदनचोक, बेलनपुर र गोवा गाँउमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको वडा ४ नं. वडा कमिटिका सभापति फारुक गुजरले बताए ।

वडा कार्यालयको तथ्यांकमा रहेका गरिब अपाङ्ता भएका ब्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो । वितरण कार्यक्रमलाई प्रभाबकारी बनाउनकालागि पार्टीका नेता तथा कार्यकर्ताहरु अपाङ्गता भएका ब्यक्तिहरुको घर-घरमा पुगेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका संगठन विभागका सचिव चिन्तामणी उपाध्यायले जनता सामु पार्टी सक्रिय छ भन्ने कुरा र आफ्नो पार्टी जनजिविकाका सवालमा उभिएर संगै हातोमालो गर्दै हिड्ने भएको हुँदा यस्ता सामाजिका कार्यमा अघि बढेको बताए । यस्तै उनले पार्टी प्रती जनताको चासो भएका कारण पनि आफुहरु प्रत्येक शनिबार घर-घरमा पुग्ने गरेको बताए ।

यस्ता कार्यक्रमलाई आगामी दिनहरुमा अझै प्रभावकारी र जनतामुखी बनाउनकालागि पार्टी अग्रसर हुने राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. १ का इन्चार्ज आनन्दबाबु काफ्लेले बताए ।

  • २३ मंसिर २०८०, शनिबार १५:१३ प्रकाशित
  • Nabintech