नेपालगन्जमा साइकल ‘पम्प ट्रयाक’ निर्माण प्रक्रिया सुरु
  • काँचुली खबर

२२ मंसिर, नेपालगन्ज । नेपालगन्जमा नेपालमै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण प्रक्रिया सुरु भएको छ ।

बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा सो साइकल ‘पम्प ट्रयाक’ निर्माण हुने बाँके जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष गगनसिंह थापाले बताए ।

उनले स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि दोस्रो साइकल पम्प ट्रयाक नेपालगन्जमा निर्माण गर्न थालेको बताए ।

अध्यक्ष थापाका अनुसार स्वीट्जरल्याण्डको भेलोसोलुसन, हिमाली राइडर्स काठमाडौँ र बाँके जिल्ला साइक्लिङ सङ्घबिच त्रिपक्षीय सम्झौता गरी नेपालगन्जमा पम्प ट्रयाक निर्माणको परियोजना सञ्चालन गरिएको हो ।

बाँके जिल्ला साइक्लिङ सङ्घका अनुसार, कन्सल्टेन्सी सहित जमिन छाडेर लगभग एक करोड ३५ लाखमा पुरा हुने सो परियोजनाको लागि एक करोड भेलोसोलुसनले खर्च गर्ने छ भने पाँच लाख जति जनश्रमदान बाँके जिल्ला साइक्लिङ सङ्घ र स्थानीय टोलवासी तथा उपभोक्ता समितिले गर्ने छ । पाँच लाख बजेटसँगै आवश्यक मेसिनरी सहयोग नेपालगन्ज उपमहानगरपालिका गर्ने भएको छ ।

विश्वका ३० भन्दा धेरै देशमा सञ्चालित यो परियोजना नेपालगन्जमा आउनु आफैमा गौरवको कुरा भएको जनाउँदै नेपालगन्ज १ का वडा अध्यक्ष प्रमोद रिजालले आफ्नो वडामा रहेको फुटबल प्रशिक्षण खेल मैदान नजिकै पम्प ट्रयाक बनाउन थालिएको बताए ।

साइक्लिङ अभियन्ता रमेश मल्लको नेतृत्वमा निर्माण समिति समेत बनाएर निर्माण प्रक्रिया सुरु भइसकेको छ भने आगामी जनवरी ८ तारिखबाट भेलोसोलुसनका इन्जिनियर तथा प्राविधिक टोली पूर्वाधार निर्माणमा जुट्ने निश्चित भएको बाँके जिल्ला साइक्लिङ सङ्घले जनाएको छ ।

-गोरखापत्रबाट

  • २२ मंसिर २०८०, शुक्रबार १२:४२ प्रकाशित
  • Nabintech