ब्यवस्था उल्टाउने कुरा सम्भव छैन : महासचिव गुरूङ
  • काँचुली खबर

१५ मंसिर, काेहलपुर । नेकपा माओवादि केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्टाउने कुरा सम्भव नभएकाे बताएका छन । नेपालमा लोकतन्त्रको विकल्प नरहेकाे उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनिहरूकाे चाहना कहिले पूरा नहुने दावी गरे ।

बिहिबार बाँकेका संचारकर्मिहरूसँगकाे भेटमा बाेल्दै महासचिव गुरूङले पछिल्लाे समय जातीय, धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको भन्दै जनता सचेत हुनुपर्ने धारणा राखे ।

महासचिव गुरुङले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताए । उनले पहिलाे चरणमा पूर्व माओवादीहरूको एकता र त्यस पछि कम्युनिष्ट नाम भएका सबैको एउटै केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताए । उनले एउटै झण्डा भएकाहरू एक ठाँउमा आउनुपर्ने भन्दै आउन नसक्नेहरूको मोर्चा बनाएर आगाडि बढिने समेत बताए ।

पहिलो चरणमा बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द (बिप्लव) लगायतसँग पार्टी एकताको कुरा भईरहेको उल्लेख गर्दै गुरूङले एकता प्रक्रिया छिट्टै टुंगोमा पुग्ने विश्वास ब्यक्त गरे ।

माओवादी पार्टी एक आन्दोलन भएको भन्दै उनले कहिले खुम्चने त कहिले फुक्ने गरेको बताउँदै माओवादी आन्दोलनको विकल्प नभएको धारणा राखे ।

प्रचण्ड नेतृत्वको सरकारले सुशासनकालागि केही उदाहरणीय काम गरेको बताउँदै गुरूङले मुलुककाे स्थित नर्मल काेर्षमा अगाडि बढिरहेकाे दावि गरे । उनले ‘टीआरसी’ लगायत शान्ति प्रक्रियासँग जाेडिएका अन्य विधेयकमा राष्ट्रिय सहमतिकाे प्रयास भईरहेकाे उल्लेख गर्दै सँसदकाे हिउदे अधिवेशनसम्म सहमती जुट्नेमा आशावादी रहेकाे बताए ।

नेकपा (माओवादी केन्द्र) को विशेष अभियानका क्रममा कोहलपुर आएका गुरुङले बिहिबार बैजनाथ तथा कोहलपुर नगरपालिकाका अगुवा कार्यकर्तासँग अन्तरक्रिया गरेकाे नेकपा माओवादि केन्द्र बाँकेका संयाेजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए । पाण्डेका अनुसार महासचिव गुरूङकाे शुक्रबार सल्यान हुँदै जाजरकोट र रुकुममा पुगेर भुकम्प प्रभावितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेकाे छ ।

  • १५ मंसिर २०८०, शुक्रबार ०४:३९ प्रकाशित
  • Nabintech