१२ मंसिर, कोहलपुर । जलीय जैविक विविधता संरक्षणका लागि बाँकेस्थित राप्ती नदीमा २० हजार माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा मत्स्य विकास केन्द्र राप्तीसोनारी-८ ओभरीले राप्तीसोनारी गाउँपालिका-२ स्थित राप्ती नदीमा रोहु र नैनी जातका २० हजार माछाका भुरा छोडेको हो ।
मत्स्य विकास केन्द्र राप्तीसोनारी ओभरीका निमित्त प्रमुख महेन्द्र प्रसाद यादवले जलीय जैविक विविधता संरक्षण अहिलेको सबैभन्दा ठुलो आवश्यकता भएकोले माछाका भुराहरु नदीमा छोडएिको बताए । उनले जलीय जैविक विविधता संरक्षणका लागि हरेक वर्ष दुई तीन पटकसम्म राप्ती नदीमा विभिन्न प्रजातीका माछाका भुरा छोड्ने गरिएको बताए ।
माछा मारेर छाक टर्ने समुदायको रोजगारी सुनिश्चितता नहुँदा प्राकृतिक जलाशयमा भएका माछा सकिँदै जान थालेकाले माछाको संरक्षण गर्नु आवश्यक भएको मत्स्य विकास केन्द्र ओभरीका निमित्त प्रमुख यादवको भनाइ छ । सो अवसरमा माछाका महत्वपूर्ण प्रजातिको क्रमशः वंश नास भइरहेकोमा चिन्ता व्यक्त गर्दै जलीय सम्पदाको संरक्षण गर्न विभिन्न कार्यक्रम गर्नुपर्नेमा पनि जोड दिईएको थियो ।
राप्ती सोनारी गाउँपालिका-८ का वडाध्यक्ष शालिकराम डाँगीले करेन्ट र विष प्रयोग गरेर माछा मार्नेको सङ्ख्या बढिरहेको हुँदा यस्ता कार्यहरू रोक्नु आवश्यक रहेको जनाउँदै जैविक विविधता संरक्षणमा सबैको चासो र चिन्ता हुनुपर्ने बताए । उनले वडा कार्यालयले सो बारेमा सचेतना फैलाउने कार्यक्रमहरु गर्ने योजना तयार गरेर काम गरिरहेको पनि बताए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले जलचरहरूको संरक्षणमा जोड दिनुपर्ने धारणा व्यक्त गरीन । उनले नेपाल सरकारले सिफारिस गरेका ८ प्रकारका माछा पालनमा विशेष ध्यान दिन सम्बन्धित सबैसँग आग्रह गरे ।
१० वर्षदेखि माछापालन गर्दै आएका बाँके कोहलपुरका किसान दिपेन्द्र चौधरीले माछा सेवनले स्वास्थ राम्रो हुने सचेतना बढ्दै जाँदा माछाको माग अत्यधिक बढेको जनाउँदै राम्रो आम्दानी हुने भएकोले माछा पालन गर्न सबैलाई सुझाव दिए । उनले किसानलाई माछाका भुरा सहजरूपमा उपलब्ध हुने व्यवस्था गर्न भुरा उत्पादन गर्नेहरुसँग अनरोध गरे ।
गोरखापत्रबाट
१२ मंसिर २०८०, मंगलवार १३:०३ प्रकाशित