८ मंसिर, कोहलपुर । बाँकेको एक नहरमा डुबेका बालकलाई उद्धार गर्न गएका एक व्यक्तिको नहरमै डुबेर मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-६, कोहलाका ३१ वर्षीय बच्छराज धोबीको राप्ती नदीको सिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही ठाउँका रामचन्द्र धोबीका १२ वर्षीय छोरा राजेश धोबी उक्त नहरमा माछा मार्ने क्रममा डुबेका थिए । बालक नहरमा डुबेपछि उनलाई बचाउन बच्छराज नहरमा पस्नुभएको थियो । सो क्रममा बच्छराजको डुबेर ज्यान गएको प्रहरीको भनाइ छ ।
माछा मार्दा नहरमा डुबेका बालक राजेश धोबी भने सकुशल रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
गोरखापत्रबाट
८ मंसिर २०८०, शुक्रबार १५:०६ प्रकाशित