दाङमा एकैघरका दाजुभाई मृत अवस्थामा भेटिए
  • काँचुली खबर

५ मंसिर, काेहलपुर । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।
मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए । उनीहरू बस्दै आएको घरमा घरधनी भने बस्ने गरेका थिएनन् ।
मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्किएपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ ।
डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो । एउटै कोठाका दुई वटा खाटमा उनीहरु मृत फेला परेका हुन् ।
शव गन्हाइसकेकाले उनीहरुको दुई÷तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । पोस्टमार्टमपछि मात्र उनीहरुको मृत्युको कारण खुल्ने डीएसपी पोखरेलले बताए ।
  • ५ मंसिर २०८०, मंगलवार ०७:४८ प्रकाशित
  • Nabintech