अतिक्रमणको चपेटामा बाँकेका औद्योगिक क्षेत्र
  • काँचुली खबर

४ मंसिर, कोहलपुर । बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ ।

जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको निर्माण नहुँदै अतिक्रमणको चपेटामा परेका हुन् । सरकारले निर्माण गर्ने घोषणा गरे पनि नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित औद्योगिक ग्रामको न संरक्षण हुन सकेको छ, न त निर्माण नै अगाडि बढ्न सकेको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले केही राजनीतिक दलले प्रोपोगाण्डाका रुपमा झण्डा गाडेर औद्योगिक ग्रामको जग्गा कब्जा गरेको प्रचारबाजी गरे पनि त्यो सम्भव नभएको बताए । उनले गाउँपालिकाले त्यहाँ निर्माण गरेर तत्काल केही उद्योग सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए ।

स्थानीयले भने जतिसक्दो चाँडो सरकारले औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने माग गर्दै आएका छन् । खजुरा गाउँपालिका वडा नम्बर ६ का स्थानीय समिर बेहनाले सरकारले तत्काल काम थाल्नुपर्ने बताए । कब्जा गर्ने नियत अझै देखिएको भन्दै उनले काम अघि बढाउन आग्रह गरे ।

२०७६ असोजमा खजुराको वडा नम्बर ६ मा २१ बिगाह जमिनमा औद्योगिक ग्राम बनाउने निर्णय सरकारले गरेको थियो । राजनीतिक आडमा निर्माण गरिएका करिब ५०० छाप्रा सुरक्षाकर्मीले भत्काएका थिए । तर, अतिक्रमण अझै पनि रोकिएको छैन।

नौवस्ता औद्योगिक क्षेत्रको जग्गा पनि अतिक्रमणमुक्त हुन सकेको छैन । १११ वटा उद्योग सञ्चालन गर्ने गरी बैजनाथ गाउँपालिकाको नौवस्तामा ३६५ विगाह क्षेत्रफलमा ८ अर्ब ७ करोड रुपियाँको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ । तर, काम अगाडि बढाउन खोज्दा निरन्तर अवरोध भइरहेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश केसीले निर्माण सुरु गर्ने प्रक्रियाका लागि फिल्डमा खटिने कर्मचारीलाई स्थानीयले पटकपटक अवरोध गरिरहेको बताए । उनले रिपोर्टिङ गर्न गएका, डेटा कलेक्सन गर्न गएका कर्मचारीलाई अतिक्रमण गरेकाले काम गर्न नदिँदा निर्माण अगाडि बढ्न नसकेको बताए ।

  • ४ मंसिर २०८०, सोमबार १६:३७ प्रकाशित
  • Nabintech