दाङ आउँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते
  • काँचुली खबर

१ मंसिर, बुटवल । काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुवाहक बस गएराति रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइते भएकाहरू मध्ये धेरै जसो अहिले डिस्चार्ज भए पनि गम्भीर घाइते भएका दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका डिएसपी होम थापाले २ जनालाई भैरहवा रिफर गरिएको र अन्य बिहानबाट क्रमिक रूपमा अस्पतालले डिस्चार्ज गर्दे गरेको बताए ।

उनले गम्भीर घाइते दाङको शान्तिनगर-५ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरी, र सल्यानको कपुरकोट-५ बस्ने ४० वर्षीय रिखि साहुलाई भैरहवा रिफर गरेको बताए ।

बा प्र ०३-००१ नम्बरको बस गए राति १२ बजेतिर सडकबाट करिब ३-४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको थिए । घाइतेहरू मध्ये २ जना गम्भीर, ५ जना मध्यम र अरू १३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

  • १ मंसिर २०८०, शुक्रबार १२:३५ प्रकाशित
  • Nabintech