भरूवा बन्दुक र जरायाेकाे सुकुटीसहित बर्दियाबाट ४ जना पक्राउ
  • काँचुली खबर

२७ कात्तिक, नेपालगन्ज । बर्दिया राष्ट्रिय निकुञ्जबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना ब्यक्ति पक्राउ परेका छन ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट सेनाको गस्ती टोलीले चोरीशिकारीमा संलग्न रहेका चार जनालाई ४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हुन ।

पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्रबहादुर वली र दिलबहादुर वली रहेको दाहालले जानकारी दिए ।

निकुञ्जभित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाएपछि निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेसन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताए ।

पक्राउ परेकाको साथबाट भरुवा बन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामग्री बरामद गरिएको पनि उनले बताए ।

निकुञ्ज प्रशासनका अनुसार पक्राउ परेकाहरूलाई एक वर्ष कैद, एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि पक्रिया अगाडि बढाइएको जनाउँदै केही समय यता चोरीशिकारी बढ्दैगएको पाइएकाले निकुञ्जभित्र गस्ती बढाइएको पनि बाँके र बर्दिया दुबै निकुञ्जले जनाएका छन् । केही समययता आएर निकुञ्ज क्षेत्रभित्र विभिन्न जनावरहरु समेत मृत भेटिने गरेकाले पनि चोरीशिकारी बढेको पुष्टि भएकाे छ ।

  • २७ कार्तिक २०८०, सोमबार १९:०५ प्रकाशित
  • Nabintech