७ जेष्ठ २०८१, सोमबार
विश्वकपमा छनाेट हुन युएईलाई जित्नै पर्ने दबाबमा नेपाल
  • काँचुली खबर

१७ कात्तिक, काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले आज शुक्रबार यूएईसँग खेल्दैछ । छनोट प्रतियोगिताको सेमिफाइनलको खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ ।

समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

यूएईलाई हराउँदै प्रतियोगिताको फाइनलसँगै विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

अर्को सेमिफाइनलमा कीर्तिपुर मैदानमा बहराइन र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

समूह चरणमा नेपालले सिंगापुर र मलेसियालाई हराएको थियो । तर अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो । नेपालको सुरुवाती र मध्यक्रमको ब्याटिङ लाइन चल्न नसक्दा नेपालले ओमानसँग हार ब्यहोरेको थियो ।

ओमानविरुद्धको खेलमा नयाँ ब्याटरको रुपमा विवेक यादव चलेका थिए । उनले २४ बलमा ३९ रनको विस्फोटक इनिङ्स खेलेका थिए । आउट हुनुअघि तीन बलमा ३ छक्का प्रहार गर्दै उनले नेपाललाई जितसम्म डोर्याउन भुमिका खेलेका थिए । अन्तिम अन्तिम दुई बलमा नेपाल ७ रन बटुल्न भने असफल रहेको थियो ।

माथिल्लो क्रमको ब्याटिङ अर्डरमा सोमपाल कामीलाई खेलाउने नेपालको प्रयास सफल हुन सकेको छैन भने भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको चोट अर्को समस्या बनेको छ । उनी यूएईविरुद्धको निर्णायक खेलमा समेत मैदान फर्कनेमा अनिश्चित छ ।

ओमानविरुद्ध गरेको गल्ती सुधार गर्दै यूएईलाई हराएर फाइनल पुगिनेमा प्रशिक्षक मोन्टी देसाई आत्मविश्वासी देखिन्छन् । विश्वकप छनोटको निर्णायक तथा महत्वपुर्ण खेल भएकाले नेपाल र यूएई दुवै टिममाथि दबाब रहनेछ ।

  • १७ कार्तिक २०८०, शुक्रबार १०:१५ प्रकाशित
  • Nabintech