६ जेष्ठ २०८१, आईतवार
अदालतको आदेशपछि रिगलले गरे प्रहरी समक्ष आत्मसमर्पण
  • काँचुली खबर

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै योगराज ढकाल ‘रिगल’ ले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन ।

रिगलले एक भिडियो सन्देश जारी गर्दै अदालतको निर्णयको सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गर्न जान लागेको बताएका छन । उनले कानुनको सम्मान गर्ने भन्दै छिट्टै न्याय पाउने विश्वास समेत ब्यक्त गरेका छन ।

रिगलले आत्मसमर्पण गर्ने जनाए लगत्तै प्रहरीले नेपालगन्जबाट उनाई पक्राउ गरेको छ । बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ गरीएका रिगललाई अहिले जिल्ला प्रहरी कार्यालय बाँके लगिएको प्रहरी स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको थियो ।

रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए । त्यसबेला घोराहीस्थित जिल्ला कारागारमा गाडीहरुको लाँवालस्कर लागेको थियो । कांग्रेसका कार्यकर्ताहरुले उनको पक्षमा नारा लगाउँदै स्कर्टिङमा उनलाई घर लगेका थिए । तर, सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् ।

दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् भने १३ कात्तिकमा अनशन स्थलमै उनी बेहोस समेत भएकी थिइन् । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

  • १६ कार्तिक २०८०, बिहीबार १६:५३ प्रकाशित
  • Nabintech