७ जेष्ठ २०८१, सोमबार
नेपालगन्ज म्याराथनको पुरस्कार राशी वृद्धि गरिने
  • काँचुली खबर

१६ कात्तिक, नेपालगन्ज । नेपालगन्ज म्याराथनको नवौं संस्करणमा पुरस्कार राशीमा वृद्धि हुने भएको छ । आगामी मंसिर ९ गते संचालन हुने म्याराथनको पुरस्कार राशी बृद्धि गर्ने तयारी भईरहेको आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिदैं क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टीएस ठकुरीले केही दिनभित्रै म्याराथनको नगद पुरस्कार बारे विस्तृत जानकारी सार्वजनिक गरिने बताए ।

‘म्याराथनका लागि केही सरप्राइज प्याकेज पनि घोषणा गर्नेछौं,’ उनले भने ‘अझै केही नयाँ गर्ने प्रयत्न हामीले गरिरहेका छौं, यो लुम्बिनी प्रदेशको मुख्य इभेन्ट हो ।’

नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा विगत ९ वर्षदेखी निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । म्याराथनका लागि गत भदौं १ गतेदेखी नै खेलाडी दर्ता खुला गरिएको अध्यक्ष ठकुरीले बताए ।

‘यस वर्ष चार विधा थप गरी बिभिन्न १४ वटा विधामा प्रतिस्पर्धा समावेश भएको छ,’ उनले भने ‘स्कुल स्तरीय बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखी कक्षा ८ तथा ९ देखी १२ सम्मको अलग अलग प्रतिस्पर्धा गराइनेछ ।’

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालगन्ज म्याराथन र लुम्बिनी म्याराथनलाई प्रदेश खेलकुद परिषदले विशेष सम्पत्तीका रुपमा लिएको बताए । ‘प्रदेश खेलकुद परिषदले यि दुई म्याराथनलाई आफ्नो विशेष सम्पत्तीको रुपमा लिएको छ, यहाँहरुलाई खेलकुद परिषदले इम्पावर गर्छ, भने अर्कोतर्फ नियमन पनि गर्नेछ,’ उनले भने ।

आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष-महिला खुल्ला, ५ किमी स्कुल स्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखी १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।

यसैगरी स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिने बताइएको छ । बाँके जिल्लाका हकमा कक्षा ६ देखी ८ तथा ९ देखी १२ सम्मको अलग-अलग दौड (१५ किमी) सञ्चालन गरिने आयोजकले जनाएको छ ।

म्याराथनको स्टार्ट-फिनिसिङ गेट नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिका देखी चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुने बताइएको छ ।

  • १६ कार्तिक २०८०, बिहीबार १५:३८ प्रकाशित
  • Nabintech