७ जेष्ठ २०८१, सोमबार
बाँके प्रशासनद्धारा ‘नागरिक रिपोर्ट कार्ड’ क्युआर कोड सञ्चालन
  • काँचुली खबर

१६ कात्तिक, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा प्रवाहका लागि ‘नागरिक रिपोर्ट कार्ड’ नामको आफ्नै क्युआर कोड सञ्चालनमा ल्याएको छ । सो क्युआर कोडमार्फत सेवाग्राहीले आफूले प्राप्त गरेको सेवाका सम्बन्धमा आफ्नो अनुभूति, कर्मचारीको व्यवहार र समग्र कार्यालयको मूल्याङ्कन हुने जनाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवाहरुलाई सहज र सरल बनाउने अभियानअन्तर्गत ‘नागरिक रिपोर्ट कार्ड’ नामको क्युआर कोड सञ्चालनमा ल्याइएको बताए ।

उनले सो क्युआर कोड स्क्यान गरी त्यसमा सोधिएका प्रश्नहरूको उत्तर छनोट गर्दै सेवाग्राहीले सेवा प्रदान गर्ने कार्यमा संलग्न कर्मचारी र कार्यालयको मूल्याङ्कन गर्न सकिने बताए ।

प्रजिअ पोखरेलका अनुसार प्राप्त भएको सेवाको गुणस्तर, कर्मचारीको बोलीबचन, व्यवहार, सास्ती वा झन्झट खेप्नु परे-नपरेको अनुभूति, राजस्व बाहेक अतिरिक्त पैसा तिर्नु परे-नपरेको, सेवा नपाएको अवस्थामा त्यसको चित्त बुझ्दो कारण पाएर नपाएको जस्ता तितामीठा अनुभूति तथा भविष्यमा कर्मचारी र कार्यालयले गर्नुपर्ने सुधारका क्षेत्रहरू समेटिएका प्रश्नावलीमार्फत सेवाग्राहीहरूले कर्मचारीको व्यवहारको मात्र नभई कार्यालयको समग्र सेवा प्रवाहको अवस्थाबारे मूल्याकङ्न गर्न सकिनेछ ।

कार्यालयले प्रयोगमा ल्याएको क्युआर कोड मोबाइल फोनमार्फत् स्क्यान गरी प्रत्येक सेवाग्राहीले पृष्ठपोषण दिन सक्ने गरी सुविधा मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त कोडमार्फत कार्यालयमा सेवा प्राप्त गर्न गएका सेवाग्राहीले मात्र नभई जुनसुकै स्थानमा रहेका व्यक्तिले पनि बाँके प्रशासनलाई सुझाव-सल्लाह दिन सक्ने पनि प्रजिअ पोखरेलले बताए ।

सेवाग्राहीको आँखाबाट कर्मचारी र कार्यालयको छवि परीक्षण गर्न यो प्रविधि निकै उपयोगी हुने उनको विश्वास छ । यसअघि इलाम जिल्ला प्रशासनमा रहँदा पोखरेलले नै पहिलो पटक क्युआर कोडमार्फत मूल्याङ्कन गर्न सकिने पद्धतिको अभ्यास गरेका थिए ।

बाँकेमा सरुवा भएर आएलगत्तै उनले धार्मिक सामाजिक सद्भाव कायम गर्न अहम भूमिका निर्वाह गर्नुका साथै जिल्ला प्रशासन कार्यालयलाई जनतामैत्री बनाउन विभिन्न कार्य सुरु गरेका छन ।

  • १६ कार्तिक २०८०, बिहीबार १४:३० प्रकाशित
  • Nabintech