काेहलपुर गाेल्डकपलाई निरन्तरता दिने मुख्यमन्त्री चाैधरीकाे घाेषणा
  • काँचुली खबर

१५ कात्तिक, काेहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको पहिलो प्राथमिकतामा खेलकुद रहेको बताएका छन । बाँकेको कोहलपुर स्थित तेह्र बिगाह मैदानमा बुधबारदेखि सुरू भएकाे मुख्यमन्त्री काेहलपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८० को उद्घाटन गर्दै चौधरीले खेलकुदले देशवासीलाई एकताको सन्देश दिने भन्दै कोहलपुर गोल्डकपलाई प्रदेशको नियमित कार्यक्रममा समावेश गरिने बताए ।

खेलकुदका माध्यमबाट सबै जातजातिबिच एकता कायम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री चाैधरीले स्थानीय तहबाट आउने हरेक सकारात्मक योजनामा प्रदेशको साथ रहने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशलाई विश्वभरि पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले खेलकुदले मानिसलाई अनुशासित, स्वस्थ राख्न मद्दत गर्ने उल्लेख गरे ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रसाद भट्टराईले प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्नुकासाथै काेहलपुर मैदानलाई व्यवस्थापन गर्न आर्थिक सहयोग गर्ने बताए ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले आफु खेलकुदको समग्र विकासको लागि निरन्तर लागिरहेको दाबि गर्दै तेह्र बिगाहा खेलमैदानको प्याराफिट निर्माणकालागि बजेट विनियोजन गरीएकाे बताए ।

  • १५ कार्तिक २०८०, बुधबार १९:४० प्रकाशित
  • Nabintech