खानेपानीको स्रोत सुक्दै गएकोप्रति सरोकारवालाहरुको चिन्ता
  • काँचुली खबर

१५ कात्तिक, कोहलपुर । स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । कोहलपुरमा बुधबार भएको कोहलपुर नगरपालिका खानेपानी, सरसफाई बोर्ड गठन सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले खानेपानीको सचित संरक्षण गर्नुपर्ने बताएका हुन ।

कोहलपुर नगरपालिकाको आयोजना तथा लुमन्तीको ब्यवस्थापनमा भएको कार्यक्रममा बोल्दै कोहलपुर बृहत्त शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुषालले एकीकृत रुपमा बृहत्त खानेपानी संस्थाको अवधारणका साथ अधि बढ्नुपर्ने बताए । उनले नगरभित्रका सबै नागरीकलाई स्वच्छ खानेपानी पुर्याउन स्रोत ब्यवस्थापन सबैभन्दा ठुलो चुनौती रहेको बताए ।

कोहलपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष लाल बहादुर रानाले स्थानिय स्तरमा रहेका खानेपानीका स्रोतको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनले डुडुवा, मानखोला, किरणनाला जस्ता पानीका मुहानहरुलाई संरक्षण गर्नु स्थानिय सरकारको दायीत्व रहेको बताउँदै दिर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न यस्ता स्रोतहरु उपयोगी हुनसक्ने बताए ।

कार्यक्रममा बोल्दै खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले बाँकेमा खानेपानीको अवस्था भयावह रहेको बताए । उनले भएका खानेपानीका स्रोतको पनि सहि सदुपयोग हुन नसकेको प्रति दु:ख ब्यक्त गर्दै खेर गईरहेको पानीको ब्यवस्थापनकालागी सबैले सक्दो प्रयास गर्नुपर्ने बताए ।

उनले बाँकेमा १५/२० वर्षदेखिका योजनाहरु अझै सम्पन्न हुन नसकेको अवस्थामा नयाँ योजनाहरु बनाउनु भन्दा एकिकृत रुपमा एउटै समिति बनाएर अघि बढ्न समेत सुझाव दिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले जनताका आधारभुत आपश्यकता पुर्ति गर्न स्थानिय सरकार प्रतिवद्द रहेको बताए ।

कार्यक्रमका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउन चुनौति रहेको बताए । उनले नगरभित्रका सबै खानेपानी समितिलाई मर्ज गरेर एकीकृत रूपमै एउटै समिति बनाउन सके सेवा थप प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा लुमन्ति, कार्यक्रम संयोजक सुर्य कुमार खड्काले कार्यपत्र पेश गरेका थिए । उनका अनुसार कोहलपुर नगरपालिकामा ४ वटा खानेपानी उपभोक्ता समिति संचालनमा रहेका छन भने ३ वटा निर्माणाधिन अवस्थामा रहेका छन । चालु अवस्थामा रहेका ४ वटा खानेपानी उपभोक्ता समितिबाट ६ हजार उपभोक्तालाई स्वच्छ खानेपानी पुर्याईएपनि अझैं धेरै नागरीक दुषित पानी खान बाध्य रहेको खड्काले बताए ।

कोहलपुर नगरपालिकाभित्र रहेका २४ हजार १ सय ८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक पर्ने बताउँदै खड्काले पछिल्लो समय खानेपानी आयोजना मार्फत २५ प्रतिशत उपभोक्तालाई मात्र स्वच्छ खानेपानी पुर्याउन सकिएको बताए । उनले अझैं पनि ७५ नागरीक ट्युवल तथा बोरीङको पानी खान बाध्य रहेको तथ्याङ्क उल्लेख गरेका थिए ।

  • १५ कार्तिक २०८०, बुधबार १२:१२ प्रकाशित
  • Nabintech