३० बैशाख २०८१, आईतवार
नेपालबाट धेरै कुरा सिकेर जाँदैछु : महासचिव गुटरेस
  • काँचुली खबर

१४ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले धरै कुरा सिकेर जान लागेको बताएका हुन् ।

सम्बोधनमा महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले भने, ‘मेरो केही दिनको बसाइँमा मैले धेरै कुरा सिकेँ । त्यो सिकेको कुरा लिएर जलवायु परिवर्तनमा तपाईंहरुको संघर्षलाई र यहाँको विकासका लागि सहयोग गर्नेछु ।’ गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

उनले हिमालयको मनोरम दृश्य, यहाँको न्यानो आतिथ्य, सांस्कृतिक विविधता आफूलाई सधैँ याद रहेन बताए । उनले विश्वमा तनाव बढिरहेको बेला यो भेट भइरहेको बताउँदै गरिबी निवारण र भोकमरी विरुद्ध गरिएको दशकौँ लामो संघर्षलाई उल्टाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे ।

गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रसंघले सहयोग गर्ने बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले संक्रमणकालीन न्याय टुंग्याउन नेपाललाई एक्लै संभव नभएको भन्दै यसमा राष्ट्रसंघले सहयोग गर्ने बताएका हुन्।

उनले इजरायल र हमासबिचको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपाल यसबाट प्रभावित भएको जिकिर गरे । उनले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारहरूप्रति समवेदना प्रकट गरे ।

  • १४ कार्तिक २०८०, मंगलवार १६:४२ प्रकाशित
  • Nabintech