२८ बैशाख २०८१, शुक्रबार
टी-२० विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै
  • काँचुली खबर

१३ कात्तिक, काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन् । कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबिच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ ।

यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ । सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ ।

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहने छ । प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् ।

प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका चारवटै टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् । त्यसपछि दुवै समूहबाट तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ ।

सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ ।

वरीयतामा नेपाल सबैभन्दा अगाडि

प्रतियोगितामा सहभागी हुन हङ्कङ र यूएईका टोली भने करिब दुई साताअघि नै नेपाल आएका थिए । टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि नेपाल, यूएई र हङकङबिच त्रिकोणात्मक शृंखला खेलिएको थियो ।

त्यो शृंखलाको उपाधि यूएईले जितेको थियो । अपराजित रहँदै फाइनलसम्म पुगेको नेपाललाई उपाधि भिडन्तमा यूएईले हराएको थियो । त्यसअघि प्रारम्भिक चरणको खेलमा नेपालले हङ्कङ र यूएईलाई दुई-दुई पटक हराएको थियो । प्रारम्भिक चरणमा यूएई र हङ्कङले भने एक-एक खेल जितेका थिए ।

यही त्रिकोणात्मक शृंखला खेल्न हङ्कङ र यूएईका टोली विश्वकप छनोट सुरु हुनुअघि नै नेपाल आएका थिए । प्रतियोगितामा सहभागी हुन अन्य टोली पनि नेपाल आइसकेका छन् । यतिबेला सहभागी आठवटै टोली छनोट प्रतियोगिताको फाइनलमा पुगेर आगामी टी-२० विश्वकपमा स्थान बनाउने योजना बनाउन ब्यस्त छन् ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा सहभागी टोलीहरुमध्ये पछिल्लो आईसीसी टी-२० वरीयतामा पनि नेपाल सबैभन्दा माथि रहेको छ । पछिल्लो टी-२० वरीयतामा नेपाल १६औँ, यूएई १७औँ, ओमान २०औँ, हङ्कङ २१औँ, मलेसिया २५औँ, कुवेत २७औँ, बहराइन २८औँ र सिंगापुर ३६औँ स्थानमा आसिन छन् ।

  • १३ कार्तिक २०८०, सोमबार ०७:५९ प्रकाशित
  • Nabintech