हुलाकी सडकले नेपालगन्ज आवागमनमा सहज
  • काँचुली खबर

१० कात्तिक, कोहलपुर (रासस) । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारीका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ ।

हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि अहिले राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताए ।

“सडक नबन्दा विद्यालय जानआउन वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्थ्यो”, उनले भने, “सडक निर्माण भएपछि अब नेपालगञ्जबाटै आवतजावत गर्न सकिने भएको छ ।”

यो सडक निर्माण भएपछि राप्तीसोनारी गाउँपालिका १, २, ३, ४, ५ र ६ का वडावासीलाई नेपालगञ्ज पुग्न सहज भएको उनको भनाइ छ ।

फत्तेपुर, विनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि अहिले सहज भएको छ ।

सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणको काम समेत भएको छ ।

सडक निर्माण भएपछि अहिले गाउँपालिका कार्यालय जानआउन धेरै सहज भएको राप्तीसोनारी गाउँपालिका(७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

“सडक नबन्द वर्षायाममा गाउँपालिका कार्यालय पुग्न दुःख हुन्थ्यो, हुलाकी सडक बनेपछि अव धेरै सुविस्ता भएको छ”, उनले भने, “विगतमा बिग्रेको बाटोमा मोटरसाइकल र साइकलमा यात्रा गर्दा दुःख कष्ट पाउने गरेकामा अहिले सडक बनेपछि सबैलाई सहज भएको छ ।”

हुलाकी सडक बनेसँगै अहिले पूर्व-पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् ।

अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारुको भनाइ छ ।

फत्तेपुर नर्सरीदेखि वैजापुरसम्मको सडक निर्माण कार्य अहिले पनि जारी रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले जानकारी दिए ।

उनका अनुसार, वैजापुरलगायत केही स्थानमा सडक निर्माणको काम भइरहेको छ । सडकमा अन्तिम चरणको कालोपत्रको काम भइरहेको छ ।

आगामी कात्तिकसम्म सडक निर्माणको समय रहेको जानकारी दिँदै पाण्डेले सडक निर्माण पूरा नभए पनि हाल स्थानीयलाई आवागमनमा सहजता भएको बताए ।

सडक निर्माण भएपछि राप्तीसोनारी गाउँपालिका १ देखि ७ सम्मका बासिन्दालाई आवागमनमा धेरै सहजता हुने उनको भनाइ छ ।

नेपालगञ्जबाट हुलाकी सडकअन्तर्गत दक्षिणतर्फ सिधनिया कटकुइँयासम्मको सडकको काम सम्पन्न भइसकेको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार १५:४५ प्रकाशित
  • Nabintech