४ जेष्ठ २०८१, शुक्रबार
राप्तीसोनारीका १३ सहित बाँकेमा २८ वटा खानेपानी आयोजना सम्पन्न
  • काँचुली खबर

बाँकेको राप्तीनदीबाट नेपालगन्जसम्म पानी पुर्‍याउने निर्माणाधीन आयोजना ।

१० कात्तिक, नेपालगन्ज। बाँके जिल्लाका बढीभन्दा बढी नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले २८ वटा खानेपानी आयोजना सम्पन्न गरिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका अनुसार ती आयोजना पूरा भएपछि जिल्लाका १५ दशमलव ३२ प्रतिशत नागरिकले धाराको पानी पिउन पाएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका डिभिजन प्रमुख तिलक न्यौपानेले जिल्लामा सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकामा खानेपानी आयोजना निर्माण भई सञ्चालनमा आएको बताए ।

उनले त्यहाँ २२ वटा आयोजनाको निर्माण चलिरहेको र १३ वटा योजना निर्माण पूरा भई पानी वितरण सुरु गरिएको बताए । डिभिजन प्रमुख न्यौपानेका अनुसार खजुरा गाउँपालिकामा सञ्चालनमा रहेका पाँचवटा खानेपानी आयोजनाले पानी वितरण सुरु गरेका छन् । त्यहाँ १० वटा आयोजना अहिले निर्माणाधीन अवस्थामा छन् ।

खानेपानी तथा सरसफा डिभिजन कार्यालयका अनुसार त्यसैगरी, कोहलपुर नगरपालिकामा चार आयोजनाले पानी वितरण गरिरहेको छ भने पाँच आयोजना निर्माणाधीन छन् । बैजनाथ गाउँपालिकामा चार आयोजना पूरा भई पानी वितरण गरिरहेका छन् भने ६ वटा आयोजना निर्माणाधीन छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीका दुई वटा आयोजना पूरा भई पानी वितरण भइरहेको र चार आयोजना निर्माणाधीन अवस्थामा रहेको डिभिजन प्रमुख न्यौपानेले बताए । सोही प्रकारले जानकीमा ६, नरैनापुरमा नौ र डुडुवामा पाँच खानेपानी आयोजना निर्माण भइरहेका छन् ।

डिभिजन प्रमुख न्यौपानेले भने, ‘जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा २० वटा खानेपानीका आयोजना निर्माण भइरहेका छन्, तर अहिलेसम्म पानी वितरण भएको छैन ।’ गत आर्थिक वर्षसम्म बाँकेमा ६८ वटा खानेपानी आयोजना निर्माणाधीन छन् । बहुवर्षे आयोजना अन्तर्गत सञ्चालनमा रहेका यी आयोजनामध्ये चालू आर्थिक वर्षमा करिब ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य छ ।

चालू आर्थिक वर्षमा धेरैभन्दा धेरै आयोजना सम्पन्न गर्ने र बाँकेका २५-३० प्रतिशत नागरिकलाई पाइप प्रणालीको पानी पिउने पहुँच पुर्‍याउने योजना रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
गोरखापत्रबाट

  • १० कार्तिक २०८०, शुक्रबार १४:५४ प्रकाशित
  • Nabintech